काठमाडौं, नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। कोइराला देउवा निवासमै पुगेर भेट गरेका हुन्।
भेटमा कांग्रेसभित्र देखिएको पछिल्लो विवाद, पार्टीको आन्तरिक अवस्था र एकताका विषयमा छलफल भएको कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाले जानकारी दिए।
उनका अनुसार कोइराला र देउवा दुवै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने पक्षमा सकारात्मक देखिएका छन्। देउवाले पनि पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्ने विषयमा सकारात्मक धारणा राखेको थपलियाले बताए।
तर, दुई नेताबीचको सहमतिले मात्र कांग्रेसभित्रको विवाद समाधान नहुने थपलियाको भनाइ छ। पार्टी एकताका लागि वर्तमान सभापति गगन थापाले नै सक्रिय पहल गर्नुपर्ने उनले बताए।
“दुवै नेता पार्टी मिलाउने पक्षमा हुनुहुन्छ। तर, मिल्ने–मिलाउने उहाँहरूको हातमा छैन। बल त सभापति गगन थापाको हातमा छ। उहाँले पहल गर्नुपर्यो,” थपलियाले भने।
कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच पछिल्लो समय बढेको मतभेदका बीच कोइराला र देउवाबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी पार्टीको आगामी महाधिवेशन, नेतृत्व र पछिल्लो आन्तरिक विवादका विषयमा मतभेद देखिइरहेका बेला दुई नेताबीच भएको छलफलले पार्टी एकताको सम्भावनाबारे नयाँ संकेत दिएको छ।
यद्यपि, विवाद समाधानका लागि अब सभापति गगन थापासहित पार्टीका अन्य शीर्ष नेताबीच थप संवाद र पहल आवश्यक देखिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया