काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ यात्रा सुरुदेखि नै केही गोप्य देखिएको छ। काठमाडौं–पोखरा सडकमार्ग हुँदै यात्रा गरेका प्रधानमन्त्री शाह शुक्रबार दिउँसो पोखरा पुगे पनि उनको गन्तव्यबारे धादिङ प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ।
बिहान काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकअघि नै प्रधानमन्त्री शाह गाडीमा पोखरातर्फ निस्किएका थिए। पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा प्रधानमन्त्रीसहितको टोली केहीबेर रोकिएको थियो। तर, टोली कहाँ जाँदैछ भन्नेबारे आफूहरूलाई थप जानकारी नभएको जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले बताए।
पोखरा पुगेपछि प्रधानमन्त्री शाह माछापुच्छ्रे गाउँपालिका–६ स्थित इको भिलेज रिसोर्टमा बास बस्ने कार्यक्रम रहेको बताइएको छ। त्यहाँबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी छ।
यसरी प्रधानमन्त्रीको यात्रा काठमाडौं–पोखरा सडकमार्ग र त्यसपछि हेलिकप्टरमार्फत मुस्ताङ पुग्ने गरी तय भएको देखिन्छ। तर, मुस्ताङमा प्रधानमन्त्रीको मुख्य कार्यक्रम वा भ्रमणको उद्देश्यबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।
प्रधानमन्त्री शाहको अनुपस्थितिका कारण शुक्रबार बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो केन्द्रीय समिति बैठकसमेत प्रभावित हुने भएको छ। पार्टी बैठककै दिन उनी काठमाडौं बाहिरिएपछि बैठकमा उनको सहभागिता नहुने भएको हो।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर सुरक्षा निकायलाई समेत सीमित जानकारी दिइएको देखिएको छ। यद्यपि, भ्रमणको विस्तृत कार्यतालिका र मुस्ताङमा हुने भेटघाटका कार्यक्रमबारे थप विवरण आउन बाँकी छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया