काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ। समूहले महाधिवेशनका गतिविधि तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेको हो।
रिटमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी गरेको निर्णय बदर गर्नसमेत माग गरिएको छ।
विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने यसअघिको सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनको अनुमति (निस्सा) दिइसकेको अवस्थालाई आधार बनाउँदै देउवा समूहले महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरेको हो।
रिटमा पुनरवलोकनको टुंगो नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउँदा थप जटिलता उत्पन्न हुने दाबी गरिएको छ।
सर्वोच्च अदालतले मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गरेमा कांग्रेसको १५औँ महाधिवेशनका तयारी तथा त्यससँग सम्बन्धित गतिविधि रोकिनेछन्। अब रिटमाथि सर्वोच्चको प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिने वा नदिने विषय टुंगो लाग्नेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया