logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • नेपाली दिदीभाइलाई विश्वस्तरीय एआई च्यालेन्जमा कास्य पदक

    898Shares
    नेपाली दिदीभाइलाई विश्वस्तरीय एआई च्यालेन्जमा कास्य पदक

    काठमाडौं, नेपाली दिदीभाइको टोलीले विश्वव्यापी आईटीयू एआई एन्ड स्पेस कम्प्युटिङ च्यालेन्ज २०२६ मा कास्य पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघको ‘एआई फर गुड’ पहलअन्तर्गत आयोजित प्रतियोगितामा उनीहरूको ‘हिट स्केप’ टोलीले ‘स्पेस इन्टेलिजेन्स फर रेजिलिएन्ट सिटिज’ ट्र्याकमा विश्वभरबाट सातौँ स्थान हासिल गरेको हो।

    टोलीमा १९ वर्षीय जेनिश बुढाथोकी र उनकी २६ वर्षीया दिदी जस्ना बुढाथोकी सहभागी थिए। जेनिश अमेरिकाको म्याकालेस्टर कलेजमा भर्ना हुन लागेका छन् भने जस्ना अमेजनमा सफ्टवेयर डेभलपमेन्ट इन्जिनियरका रूपमा कार्यरत छिन्। उनले हालै कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेकी हुन्। दुवैजना ललितपुरस्थित रातो बाङ्गला स्कुलका पूर्वछात्र हुन्।

    विश्वभरका पेशेवर तथा स्नातकस्तरीय टोलीबाट १०० भन्दा बढी आवेदन परेको प्रतियोगितामा ‘हिट स्केप’ ले सहरी क्षेत्रमा अत्यधिक गर्मीको जोखिम पहिचान गर्ने प्रविधि प्रस्तुत गरेको थियो। टोलीले स्याटेलाइट तस्बिरको प्रयोग गरी छिमेक तहमा भूमि सतहको तापक्रम मापन गर्ने प्रणाली विकास गरेको थियो।

    परियोजनामा भौतिकीमा आधारित मोडलिङ र मेसिन लर्निङलाई संयोजन गरिएको थियो। अन्तिम लिडरबोर्डमा टोलीले १०० मध्ये ९९.१५ को बायस रेटिङ हासिल गरेको थियो।

    प्रतियोगिताको प्रस्तावदेखि अन्तिम चरणसम्म जेनिशले टोलीको नेतृत्व गरेका थिए। हाईस्कुल पूरा गरेपछि म्याकालेस्टर कलेजमा जानुअघि आफ्नो ग्याप इयरमा उनले ड्युक विश्वविद्यालयमा जलवायु डेटासेटसँग काम गरेको अनुसन्धान अनुभवलाई परियोजनामा प्रयोग गरेका थिए।

    जस्नाले भने परियोजनाको कोडिङ पक्ष सम्हाल्दै तापक्रम पूर्वानुमानलाई थप परिष्कृत गर्न प्रयोग गरिएको मेसिन लर्निङ मोडल विकास गरेकी थिइन्।

    जेनिशका अनुसार जलवायु डेटासँगको आफ्नो पूर्वअनुभवले प्रतियोगिताका लागि समस्या छनोट गर्न सहज बनाएको थियो। उनले परियोजनाबाट औपचारिक कक्षामा जस्तै महत्वपूर्ण सिकाइ भएको अनुभव सुनाएका छन्।

    जस्नाले पनि व्यावसायिक जिम्मेवारीसँगै परियोजनामा काम गर्दा धेरै रात अबेरसम्म मेहनत गर्नुपरे पनि भाइसँग मिलेर काम गर्न पाउनु र उसलाई नेतृत्व गरेको देख्नु आफ्नो लागि विशेष अनुभव भएको बताएकी छन्।

    टोलीलाई जेनेभामा आयोजित ‘एआई फर गुड ग्लोबल समिट’मा सम्मान गरिएको थियो। प्रतियोगितामा सफल भएबापत टोलीले नगद पुरस्कारसमेत प्राप्त गरेको छ।

    जेनिशले अब म्याकालेस्टर कलेजमा आफ्नो उच्च शिक्षा सुरु गर्ने तयारी गरेका छन्। दिदीभाइको यो सफलताले नेपाली युवाको प्रविधि, कृत्रिम बौद्धिकता र जलवायु अनुसन्धानमा बढ्दो सम्भावनालाई समेत उजागर गरेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट