बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव पाँचबुँदे सहमतिपछि साम्य भएको छ ।
पीडित पक्ष र प्रशासनबीच बिहीबार राति भएको वार्ता सफल भएपछि घटनाको विरोधमा हुँदै आएका आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो ।
भदौ २ गते भएको घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समिति, बाराका पदाधिकारीबीच पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।
वार्तामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीका लागि स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने सहमति भएको छ । त्यस्तै, घटनाको अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि कानुनबमोजिम कडा कारबाही गर्ने सहमति भएको छ ।
जिल्लाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो सुरक्षा वातावरण उपलब्ध गराउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति पनि भएको छ ।
इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत पूरा गर्ने सहमति भएको जनाइएको छ ।
पाँचबुँदे सहमति कार्यान्वयन हुने सुनिश्चिततापछि सहमति भएकै मितिदेखि आन्दोलनका सम्पूर्ण विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्तामा भएको छलफल र पाँचबुँदे सहमतिको पुष्टि गर्दै अवस्था सामान्य बन्दै गएको जानकारी दिए । उनका अनुसार माग सम्बोधन हुने सुनिश्चितता पाएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया