काठमाडौं, भदौ ४ । संघीय संसद्का दुवै सदनको बैठक नजिकिँदै गर्दा आज संसद्का नौ वटा समितिमा एकैसाथ छलफल हुँदैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने तय भएपछि विभिन्न समितिले आ–आफ्नो कार्यसूची अघि बढाउन लागेका हुन् ।
समितिका बैठकमा आर्थिक तथा वित्तीय क्षेत्रदेखि पर्यटन, कृषि, पूर्वाधार, सुशासन, शिक्षा र वैदेशिक सहायतासम्मका विषय समेटिएका छन् ।
बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समेत बोलाइएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पनि पर्यटन क्षेत्रसँग सम्बन्धित विधेयकमाथि सरोकारवालाको धारणा लिनेछ । बिहान ११ बजे बस्ने बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि होटल एसोसिएसन नेपाललगायत सम्बन्धित निकायसँग छलफल गर्ने कार्यसूची छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने विषयमा उत्पादकहरूसँग छलफल गर्नेछ । बिहान १० बजे बस्ने बैठकमा मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्थाबारे छलफल हुनेछ ।
पूर्वाधार विकास समितिमा बागमती ब्युटिफिकेसन आयोजना केन्द्रमा रहनेछ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालित आयोजनाको प्रगतिलगायत विषयमा समितिले छलफल गर्नेछ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीबारे आयोगका पदाधिकारीसँग छलफल गर्ने भएको छ । बिहान ११ बजे हुने छलफलमा सुशासन र भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित विषय उठ्नेछन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्नेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्राप्त उजुरीका विषयमा छलफल गर्ने कार्यसूची बनाएको छ ।
सार्वजनिक लेखा समितिमा भने नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको लेखापरीक्षणसम्बन्धी विषयमा छलफल हुनेछ । वैदेशिक सहायताको उपयोग र त्यसको लेखापरीक्षणलाई समितिले आफ्नो एजेन्डा बनाएको हो ।
अपराह्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग विधायिकी अन्तरसम्बन्धका विषयमा छलफल गरिनेछ ।
एकै दिन नौ वटा समितिमा बैठक बस्नुले संसद् अधिवेशनको आगामी कार्यसूचीका लागि समितिगत तयारी तीव्र बनेको संकेत गरेको छ । विशेषगरी राष्ट्र बैंक ऐन संशोधन, पर्यटन विधेयक, विधि विज्ञान प्रयोगशाला तथा सुशासनसँग सम्बन्धित विषयमा हुने छलफलले आगामी संसदीय प्रक्रियालाई समेत प्रभाव पार्ने देखिन्छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया