काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार बिहानदेखि सुरु हुनुपर्ने बन्दसत्र ढिलो गरी आज दिउँसो २ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको हो ।
यसअघि रास्वपाले महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । प्रारम्भमा ४ हजार २ सयभन्दा बढी प्रतिनिधि रहेकोमा उजुरीमाथिको छानबिनपछि अन्ततः ३ हजार ८ सय ४९ प्रतिनिधि कायम गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।
बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन तथा महामन्त्री मुकुल बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्नेछन् भने उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्र ढिलो गरी सुरु भएकाले महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने देखिएको छ । आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भए पनि निर्वाचन बुधबार हुने सम्भावना रहेको छ ।
महाधिवेशनबाट रास्वपाले १ सय ५८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ संरचनामा १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक सभापति, एक वरिष्ठ नेता, कम्तीमा एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, कम्तीमा एक महिला सहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ता रहनेछन् ।
नयाँ विधानअनुसार सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । साथै ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना सभापतिबाट मनोनीत गरिनेछ ।
पहिलो चरणमा सभापतिसहित ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । त्यसपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।
यसैबीच वरिष्ठ नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई निर्विरोध चयन गर्ने तयारी गरिएको र उक्त पदमा निर्वाचन नहुने जनाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया