जेनेभा । सन् २०२५ सम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको अनुमानित तथ्याङ्कमा जनाइएको छ । गाजामा अवस्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सन् २०२५ को अन्त्यसम्म रेकर्ड गरिएको यो सङ्ख्या गाजा युद्धमा उक्त समयसम्म मारिएका कुल ७१ हजार व्यक्तिको आधाभन्दा बढी हो ।
‘सन् २०२३ अक्टोबरदेखिसन् २०२५ डिसेम्बरको बीचमा गाजामा ३८ हजार भन्दा बढी महिला र केटीहरू मारिएका छन्, जुन इजरायली सेनाको हवाई र स्थल आक्रमणको कारण भएको होे,’ संयुक्त राष्ट्रसङ्घ महिला तथा बालबालिका मामिला निकाय (युएन वुमनका) की प्रवक्ता सोफिया कलटर्पले जेनेभामा एक पत्रकार सम्मेलनमा भने । ‘गाजा युद्धमा मारिएका ती महिला तथा बालिकामध्ये २२ हजारभन्दा बढी महिला र १६ हजार भन्दा बढी केटीहरू सरहेका छन् । यसरी हेर्दा यो सङ्ख्या औसतमा कम्तिमा ४७ महिला र केटीहरूको भएको मृत्युसङ्ख्या हो । ‘युएन वुमन’ले भनेको छ, ‘शवहरू अझै भग्नावशेषमा पुरिएको अवस्थामा भेटिने गरेको र रिपोर्टिङ प्रणालीहरू गम्भीर रूपमा सीमित रहेकाले युद्धमा मारिएका महिला तथा बालबालिकाको वास्तविक तथ्याङ्क योभन्दा अझ बढी हुन सक्छ।’
‘महिला र बालिकाहरूको मृत्युको अनुपात गाजामा यसअघिको द्वन्द्वमा देखिएको भन्दा धेरै बढी रहेको देखिएको छ,’ कलटोर्पले थप्नुभयो । सन् २००८ देखि २००९ को द्वन्द्वमा मारिनेमध्ये १५ प्रतिशत र सन् २०१४ को द्वन्द्वमा मारिनेमा २२ प्रतिशत महिला र बालिकाको रहेको युएन वुमनको प्रतिवेदनमा उल्लेख छ । युएन वुमनले भनेको छ, ‘दुःखको कुरा के छ भने यति धेरै सङ्ख्यामा मृत्युपछि पनि युद्धबाट जीवन जोगिएका महिला तथा बालिकाहरूले अझै पनि जीवनमा दैनिक खतरा, भोकमरी, बारम्बार विस्थापन र अत्यावश्यक सेवाहरूमा गहिरो प्रतिबन्धित पहुँचको सामना गर्नु परेको छ।’ ‘कहालीलाग्दो मृत्युको सङ्ख्यासँग गाजामा लगभग ११ हजार महिला तथा बालिकाहरूलाई विनाशकारी चोटपटक लागेको छ र उनीहरू आजीवन अशक्तताको साथ मात्र बाँच्नेछन्,’ कलटोर्पले भने ।
उनले थपे ‘युद्धले प्यालेस्टिनी परिवारलाई नयाँ आकार दिएको छ, गाजाका दशौँ हजार घरपरिवारहरू उनीहरूको पुरूष अभिभावक गुमाएका कारण अहिले महिलाहरूको अभिभावकत्वमा रहेका छन् । अविभावकत्व गुमाएका महिलाहरूले बाध्यात्मक र चुनौतिपूर्ण अवस्थामा परिवारको जिम्मेवारी बहन गरिरहेका छन् र उनीहरू अब ‘आय बिना, सहयोगको पर्खाइमा वा आवश्यक सेवाहरूमा पहुँचबिना’ आफ्नो परिवारको भरणपोषणको व्यवस्थापन गर्न बाध्य छन् ।
कहालीलाग्दो अवस्था
द्वन्द्वका क्रममा झण्डै १० लाख महिला तथा बालिकाहरू बारम्बार विस्थापित भएका छन् भने करिब सात लाख ९० हजार महिलाहरूले खाद्य असुरक्षाको सङ्कट–स्तर वा विनाशकारी स्तरको अनुभव गरेका छन् । कलटोर्पले भने, ‘फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमणसँगै सुरु भएको मध्यपूर्व युद्धले पनि सीमा पार बन्द र मानवीय पहुँचमा अवरोधका कारण गाजाको जनजीवन थप कठिनाइपूर्ण बनेको छ।’ सन् २०२५ अक्टोबरमा घोषणा गरिएको इजरायल र हमासबीचको कमजोर युद्धविराम गाजामा दुई वर्षभन्दा बढी युद्धपछि भएको थियो । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सीमापार आक्रमण गरेपछि इजरायलले गाजामा व्यापक हवाई तथा स्थल आक्रमण गरेको थियो । हमासको नियन्त्रणमा रहेको र संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता कम्तीमा ७६६ प्यालेस्टिनीहरू मारिएका छन् । युद्धविरामका बाबजुद हालैका महिनाहरूमा महिला र बालिकाहरूको हत्या जारी रहेको युएन वुमनले जनाएको छ ।-रासस/एएफपी
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया