खोटाङ । साकेला गाउँपालिकामा निरन्तर जनश्रमदान अभियान सञ्चालन भइरहेको छ। अभियानअन्तर्गत वर्षा कारण क्षतिग्रस्त सडक मर्मत, ग्रामीण सडकको नाली सफाइ, सडकछेउ र भित्तामा उम्रिएका बोटबिरुवा हटाउने कार्य हुँदैछ। साथै सडककिनारामा फालिएका फोहर व्यवस्थापन गर्ने र सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने काम पनि एकैसाथ अघि बढाइएको छ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्षहरू र स्थानीय नागरिकको सक्रिय सहभागितामा अभियान सञ्चालन भइरहेको छ। गाउँपालिकाले उपलब्ध उपकरण, प्राविधिक र कर्मचारीको सहयोगमा दैनिक श्रमदानलाई निरन्तरता दिएको छ।
अध्यक्ष राईका अनुसार स्थानीय बासिन्दाले आवतजावतमा असुविधा नहोस् भन्ने उद्देश्यले मुख्य तथा शाखा सडकहरूमा मर्मत कार्य भइरहेको छ। साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायतका विभिन्न मार्ग तथा पालिकाभित्रका बजार, उद्यान, कार्यालय र सार्वजनिक स्थलहरूमा सरसफाइ अभियानसँगै बिरुवा रोप्ने कार्य पनि सम्पन्न गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया