काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुनसहित दुई जना पक्राउ परेका छन्। कतारको दोहाबाट काठमाडौं आएका उनीहरूबाट प्रहरीले ६ सय ५ दशमलव ६ ग्राम सुन बरामद गरेको हो।
पक्राउ पर्नेमा भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडी र बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी रहेका छन्।
प्रहरीका अनुसार थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको छ।
त्यस्तै, कतारबाटै आएका अन्सारीको साथबाट ६९ दशमलव ६ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। प्रहरीले सुन कहाँबाट ल्याइएको र यसको गन्तव्य तथा कारोबारमा अन्य व्यक्ति संलग्न भए–नभएकोबारे अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रतिक्रिया