बाग्लुङ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर धेरैजसाे व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएका कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नयाँ परिचयपत्रका लागि दैनिक दुई सय जनासम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यून मात्र आउने गरेको बताउनुभयाे ।
जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेका छन् । शाखा अधिकृत उपाध्यायका अनुसार तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन् भने १५ हजारभन्दा धेरै परिचयपत्र प्रशासनमै रहेका छन् । परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो ।
राष्ट्रिय परिचयपत्रविरुद्धको रिट सर्वोच्च अदालतले खारेजी गरेपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । चिपसहितको एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, चालक अनुमतिपत्र (लाइसेन्स), फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया