काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामति सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएका छन्। सत्य तथ्य पत्ता लगाउँदै गर्दा संलग्न भएको जो सुकै भए पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो। थापाले विधेयक पारित हुँदा भएको विवाद र गलत अर्थ लाग्ने प्रावधानलाई पुनरावलोकन गर्न समिति आवश्यक रहेको तर्क गरे।
१७ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य गगन थापाले विधेयकमा निजामति सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने तर्क गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकको आधारमा प्रतिनिधि सभाले संघीय निजामती विधेयक पारित गरेको थियो । समितिबाट पारित गरिएको व्यवस्थामा संशोधन गरिएकोप्रति विरोध भइरहेको छ ।
अवकाशप्राप्त कर्मचारीको हकमा समावेश गरिएको ‘कुलिङ पिरियड’ मा दुई वर्षे अवधि राख्नेगरी समितिले विधेयक पारित गरेको थियो । तर, संसदबाट पारित गर्ने क्रममा कुलिङ पिरियड नहुने शब्दावली सहितको विधेयक पारित भएको थियो । समितिबाट पारित भएको विधेयक भन्दा संसदमा फरक शब्द घुसेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
कांग्रेस महामन्त्री थापाले यो विषयको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति बनाउनुपर्ने भनाइ राखेका छन् । ‘संसदबाट एउटा समिति बनाइनुपर्छ । त्यो समितिले यो विषयलाई एकदमै छोटो समय दिएर, एउटा कार्यदेश दिएर, सत्य तथ्य पहिला पत्ता लगाउनुपर्छ,’ थापाले अनलाइनखबरसँग भने ।
यो विषय एउटा मानवीय त्रुटि वा बदनियत राखेर गरिएको हो भन्ने सुरुमा छुट्याउनुपर्ने उनले बताए । समितिबाट पारित भएको भन्दा फरक ढंगले विधेयक संसदमा पठाउँदा समिति सचिवालयाई दबाब आएको थियो भने पनि बाहिर ल्याउनुपर्ने महामन्त्री थापाले बताए ।
‘राज्य व्यवस्था समितिले कि हामीलाई भन्नुपर्या निर्णयहरू गर्दै गर्दा, हाम्रो आफ्नो प्रक्रियाहरू पूरा गर्दै गर्दा के कतैबाट अनुचित दबाब आयो,’ थापाले भने ।
यो विधेयकका कारणले संसदको गरिमा माथिको र विश्वसनीयता माथि प्रश्न उठ्ने अवस्था बनेको पनि थापाले बताए । थापाले भने, ‘हामीले पारित गरेको भन्दा भिन्न अर्थ लाग्ने गरेर यो विधेयक पारित गरिएको छ भनेपछि त संसदको गरिमा र हाम्रो विश्वसनीयता माथिको प्रश्न भयो ।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया