काठमाडौ । नयाँ शैक्षिक सत्रका लागि पालिका-पालिकामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थित कार्यालय र केन्द्रबाट धमाधम पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ ।
केन्द्रले विद्यालय तहका लागि १ करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ गरेको छ । ‘प्रदेश कार्यालय र केन्द्रबाट पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ । ७० प्रतिशत पाठ्यपुस्तक गइसकेको छ । १ हजार २ सय बढी बजार प्रतिनिधिमार्फत् वितरण भइरहेको छ । आज पनि जाँदै छ,’ उनले भने ।
‘क्यालेन्डर बनाएर पाठ्यपुस्तक वितरण भइरहेको छ । जसका कारण पाठ्यपुस्तक अभाव छैन,’ उनले भने । शिक्षक आन्दोलनका कारण केही विद्यालयले नतिजा सार्वजनिक नगरेको र केही पालिकाले रकम रिलिज नगरेकाले समस्या आएको उनको भनाइ छ ।
जिल्ला-जिल्ला हुँदै पालिकामा पाठ्यपुस्तक पुगे पनि शिक्षक आन्दोलनका कारण सरकारी विद्यालयबाट विद्यार्थीको हातमा पुस्तक पुग्न भने सकेको छैन । २० चैतदेखि सरकारी विद्यालयका शिक्षकले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् ।
शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरेकाले पाठ्यपुस्तक वितरण, उत्तरपुस्तिका परीक्षण, भर्ना अभियान, गोष्ठी लगायतमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ । सरकार र महासंघबीच सहमति नभए वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र र भर्ना अभियान प्रभावित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच बिहीबार पहिलो चरणको वार्ता भएको छ, तर सहमति हुन सकेन । जसका कारण शिक्षकहरू सडक आन्दोलनमा छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया