काठमाडौं । ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।
गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । मेयर बालेन साहले भने गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे । तर, नगरप्रहरीको अवरोध छिचोल्दै कर्मचारीले जनप्रतिनिधिले कार्यालय प्रवेश गराएका हुन् ।
काठमाडौं महानगरका शिक्षक कर्मचारीले अब त तलब पाउँछन् होला है ? भन्दै पत्रकारले सोधेको प्रश्नमा गुरागाईँले भने- पाउनुपर्ने हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो ।
रोकिएको तलव सुविधा पनि खुल्छ ।’महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा आसिन गराएका हुन् । प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी पनि गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया