झापा । एशियाली राजमार्गअन्तर्गत झापाको काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नतिको काम सुस्त भएको छ । एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एशियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ ।
काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ईन्जिनियर सुनिलबाबु पन्तले अहिलेसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा अहिलेसम्म २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो ।
एभ्रास्कन कालिका जेभीले यो सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो । २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाका प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा सडकको विधिवत् शिलान्यास गर्नुभएको थियो । सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यसवर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ । कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ । एक सय ४३ वटा कल्भर्टमध्ये अहिलेसम्म ९३ वटाको काम भएको छ ।
साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ । निर्माणकार्यमा अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको कम्पनीको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया