रुपन्देही । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको आगामी अधिवेशन कहिले गर्ने भन्ने विवादले संस्थाभित्रको तनावलाई थप सतहमा ल्याएको छ । अधिवेशनको मिति तय गर्न बसेको बैठक निष्कर्षविहीन बनेपछि विवाद हातपातसम्म पुगेको हो ।
भैरहवास्थित संघको कार्यालयमा भएको बैठकका क्रममा कार्यवाहक अध्यक्ष रमेश बेल्बासे र लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव तथा संघका पूर्वअध्यक्ष विनय ज्ञवालीबीच विवाद भएको थियो । विवादकै क्रममा ज्ञवालीले आफूलाई मुक्का प्रहार गरेको बेल्बासेको आरोप छ ।
बेल्बासेका अनुसार मुक्का प्रहारपछि कानको जालीमा असर परेको छ । उपचारसमेत गराउनुपरेको भन्दै उनले घटनालाई सामान्य विवादका रूपमा नलिई कानुनी प्रक्रियाबाट अघि बढाउने तयारी गरेका छन् ।
अधिवेशनको मिति भने यसअघि नै संघको कार्यसमितिले तय गरिसकेको बेल्बासेको दाबी छ । उनका अनुसार गत जेठमा बसेको कार्यसमिति बैठकले आगामी मंसिर १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारे महासंघको प्रदेश समितिलाई समेत जानकारी गराइएको उनको भनाइ छ ।
तर संघका सदस्य शुभम रौनियारले असोजमै अधिवेशन गर्नुपर्ने धारणा राखेपछि बैठकमा विवाद बढेको बताइएको छ । संघको वर्तमान कार्यकाल मंसिरसम्म कायम रहेकाले कार्यसमितिले मंसिरमै अधिवेशन गर्ने निर्णय गरेको बेल्बासेको भनाइ छ ।
बेल्बासेले संस्थाको विवाद समाधानमा पूर्वअध्यक्ष तथा महासंघका प्रदेश पदाधिकारीले समन्वयकारी भूमिका खेल्नुपर्नेमा आफूमाथि नै हातपात भएको भन्दै आपत्ति जनाएका छन् । यस घटनाले व्यक्तिगत विवादभन्दा माथि उठेर संस्थाको अनुशासन र मर्यादामाथि नै प्रश्न खडा गरेको उनको भनाइ छ ।
घटनापछि बेल्बासेले वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कारबाहीको माग गर्दै उजुरी दिएको बताएका छन् । त्यहाँबाट समस्या समाधान नभएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिने तयारीमा रहेको उनले जानकारी दिएका छन् ।
तर महासंघका प्रदेश महासचिव विनय ज्ञवालीले भने बेल्बासेको आरोपलाई एकतर्फी रूपमा नहेर्न आग्रह गरेका छन् । बेल्बासेले आफूलाई अमर्यादित शब्द प्रयोग गरेर बोलेपछि आफूले हातपात गरेको उनले स्वीकार गरेका छन् । यससँगै घटनाको वास्तविक कारण र विवाद बढ्दै गएको परिस्थितिबारे दुवै पक्षका भनाइ फरक देखिएका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा नेतृत्वको विषयलाई लिएर विवाद नयाँ भने होइन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएपछि संघकी अध्यक्ष मञ्जु ज्ञवाली भुसालले महासचिव प्रितम रौनियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी थिइन् । त्यसविरुद्ध अदालतमा मुद्दा परेपछि नेतृत्वको जिम्मेवारीमा फेरबदल भएको थियो । त्यसपछि रमेश बेल्बासे कार्यवाहक अध्यक्ष बनेका हुन् ।
यसअघिको नेतृत्व विवाद अदालतसम्म पुगेको पृष्ठभूमिमा अहिले अधिवेशनको मिति तय गर्ने विषयसमेत विवादित बनेपछि संघभित्रको शक्ति संघर्ष पुनः सतहमा आएको देखिएको छ ।
बेल्बासे पक्षका निर्माण व्यवसायीहरूले भने महासंघका प्रदेश महासचिव ज्ञवालीमाथि कानुनी कारबाहीसँगै पदबाट हटाउन माग गरेका छन् । उनीहरूको तर्कमा संस्थागत विवाद समाधान गर्ने जिम्मेवारीमा रहेका पदाधिकारीबाटै हातपात हुनु गम्भीर अनुशासनहीनता हो ।
अधिवेशनको मिति र नेतृत्वको विषयलाई बैठक, कार्यसमिति र संस्थागत प्रक्रियाबाट टुंग्याउनुपर्नेमा विवाद व्यक्तिगत आरोप–प्रत्यारोप हुँदै हातपातसम्म पुगेपछि निर्माण व्यवसायीको साझा संस्थाको आन्तरिक विवाद थप जटिल बन्ने संकेत देखिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया