काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक गतिविधि गरेमा प्रतिवाद गर्ने चेतावनी दिँदै पूर्वराजालाई संवैधानिक दायराभित्र रहन आग्रह गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाले जबरजस्ती गर्न खोजे सह्य नहुने चेतावनी दिएका हुन् ।अस्ति शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतामा भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो । बिहीवार महोत्तरीमा कांग्रेस सभापति देउवाले गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताउनुभयो ।
यस्तै पार्टीको तराई–मधेश जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र ल्याउन खोजेर इतिहासको चक्का पछाडि फर्काउन सम्भव नभएको बताउनुभयो । राजावादीको गतिविधिका कारण काठमाण्डौ केन्द्रित कार्यक्रम गर्ने भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेश जागरण अभियान पनि स्थगित गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहनुभएको छ भने राजसंस्था पक्षधरहरूले सार्वजनिक राजनीतिक गतिविधि बढाउँदै लगेका छन् । यसैबीच आज पूर्वाराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने राजावादीहरूकाे तयारी रहेकाले प्रहरीले काठमाण्डौमा सुरक्षा सतर्कता बढाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया