logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • ओ पेङ्दोर्जे अर्थात् पहिचानको आवाज

    ओ पेङ्दोर्जे अर्थात् पहिचानको आवाज

    676
    SHARES
    ओ पेङ्दोर्जे अर्थात् पहिचानको आवाज

    नेपा~लय प्रकाशनबाट प्रकाशित राजु स्याङ्तानको कविता संग्रह ओ पेङ्दोर्जे (सन् २०२३) आजको समयको मर्म अभिव्यक्त गरेको ५१ वटा कविताको दस्तावेज हो। कवि स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक, राजनीतिक आन्दोलनमा सक्रिय नाम हो। कवितालाई समाजको राजनैतिक पाटोसित जोडेर भुइँमान्छेहरूको समाज बुझाइ र तामाङ समुदायका शब्दहरू प्रयोग गरेर उनले कवितामा जीवित रङ भरेका छन्।



    समकालीन नेपाली समाजको यथार्थताको चित्रण गरेर, उपेक्षित र उत्पीडित वर्गहरूको आवाज सचेत रूपमा राख्न सक्नु नै कविता सङ्ग्रहको उत्कृष्ट कलापक्ष हो। कविले नयाँ समयको पिपा र सुसारे बन्न अस्वीकार गर्नेहरूलाई समर्पण गरेर उनीहरूको पक्षधरता देखाएका छन्।

    हाम्रो त इतिहास

    उसै पनि अलिखित छ

    हाम्रो त वर्तमान

    उसै पनि कष्टकर छ

    हाम्रो दुःखको महाख्यानमा

    थपिएको न हो अर्को पाना (छुटेको प्रचण्ड)

    माथिका हरफहरूले प्रथमतः आजको नेपाली समाजको समस्याको उजागर गर्छन्। दोस्रो उत्पीडित समूहको मुक्तिको कुरासित यी पङ्क्तिहरू जोडिएका छन्। यी कविताका हरफहरू सामाजिक उत्पादनको रूपमा प्रतिबिम्बित छन्। लेखक आफैं समाज बदल्ने कथ्यको निर्माणकर्ता हुन्। वाल्टर बेन्जामिन यसै भन्थे। लेखकले कलाको उत्पादनका शक्तिलाई आलोचनात्मक रूपमा लिनुपर्छ। समाज बदल्ने शक्तिलाई विकास गरेर क्रान्तिको माध्यमबाट समाज रूपान्तरण गर्नुपर्छ- कवि स्याङ्तानको चिन्ता नै यही हो। समयको नैतिक चेतनाभित्र राजनीतिको रङ भर्ने क्षमता देखाउने आवाज नै कविका शब्दहरू हुन्।

    कृतिको आवरणको रङ म्हेन्दो फूलको रङ र डम्फु तामाङ समुदायको मिथकसित जोडिएको छ। आवरणको चित्रले सांस्कृतिक र राजनैतिक पक्षलाई समेटेको छ। कविता सङ्ग्रहको शीर्षक ओ पेङ्दोर्जे भनेको तामाङ बाजा डम्फु निर्माता भएको तथ्य भेटिन्छ। तामाङ समुदायले डम्फुलाई तामाङ भाषामा ह्वोल्मो भन्छन्। उनीहरूको गोलो अनुहार वा गालालाई तामाङ भाषामा ‘ग्राम्बा’ भन्छन् र त्यही गोलो अनुहारलाई वृत्ताकार देखिएकै कारण ‘ग्राम्बा वा डम्बा’ हुँदै पछि ‘डम्फु’ बनेको मत पाइन्छ। यही डम्फु र चराको मिथक उनीहरूको सामाजिक र सांस्कृतिक पक्षसित जोडिएको छ।

    तामाङ जातिको इतिहाससँगै जोडिएर तामाङ बाजा ह्वोल्मोको उत्पत्तिको कथा पाइन्छ। शिकारी युगतिर तामाङहरूको म्हेमे (जिजुबुवा) पेङ्दोर्जेले शिकार खेल्न शैलुङ डाँडा पुगेर ताङसरा (घोरल) को शिकार गरेछन्। शिकारीकी श्रीमती घोरलको मृत्युबाट शोकमा परेपछि श्रीमतीलाई खुशी बनाउन मरेको घोरलको छालाबाट पेङ्दोर्जेले अम्बु सिङ (कोइरालोको काठ) को हाँगाबाट बाजाको घेरा र मधेशबाट बाँसका ३२ वटा फुर्बा (किला) ठोकेर डम्फु बनाएछन्।

    डम्फुको आवाजले हौसिएका पेङ्दोर्जे डम्फुको तालमा नाच्दा डाँफे चराले सुनेछ र डाँफे पनि सँगसँगै नाच्न थालेछ। डाँफे नाचेको देखेपछि पेङ्दोर्जेले डम्फुको घेरोको माथिपट्टि डाँफेको प्रतीक पनि बनाए। आवरण चित्रमा डम्फुको तलतिर देखिने ४ जना मान्छेहरूको चित्रले तामाङ जातिको सांस्कृतिक एकताको पहिचान गराउँछ। तिनै समुदायलाई समाजको नयाँ गोरेटोमा लैजान नयाँ युगका पेङ्दोर्जे बनेका कवि स्याङ्तानले समाज परिवर्तनको गीत यसरी गाएका छन्:

    यो मानवता प्राप्तिको लडाइँमा

    तिमी एक्लै छेनौ साथी

    मासिन्या मतवाली’ को सन्तान

    तिमीसँगै उभिएको छ किनारमा

    म डम्फुभित्र बारु बोकेर ल्याउँछु

    तिमी आगो बनेर सल्किदिनु। (आरान र डम्फु)

    ६ खण्डमा लेखिएका उनका कवितामा समयको नाट्यकारिता, पात्रहरूको कष्टकर मार्मिकताको बोध, समयको पहिचान, उपेक्षितहरूको दबिएको आवाज र समाजमा हराउँदै गएको नैतिक चेतनाको बिम्बहरू समेटिएका छन्। कवितामा वर्गसङ्घर्षमा हिंडेको दाइको आशा र पीडाबोधको अभिव्यक्ति र गुमनाम बनेर इतिहासमा हराएका शहीदको भाव भेटिन्छ। रामबहादुरको नाममा नलेखिएको इतिहास, गाउँ हराएको कथाका आवाज, प्रजातन्त्र प्राप्तिको समयमा पञ्चायत, बहुदलीय शासन प्रणाली र गणतन्त्र स्थापना हुँदासम्म पनि तिरष्कृत र उपेक्षित भइरहनुपर्ने मानिसहरूको राजनैतिक शोषण विरुद्धको आवाज उनका कविताले समेटेका छन्।

    संघर्षमा जुटेका थुप्रै मानिसहरू र राज्यसत्ताले थिचिएको भुइँमान्छेहरूको निरीहताको बीचमा स्याङ्तानले तूफानी आवाज भरेका छन्। जन्मँदै अधिकारविहीन बनेर पनि बाँच्नका लागि हजारौं माइल पैदल हिंडेर बाटो नाप्ने मजदुरहरू, देशको माया हुँदाहुँदै पनि मातृभूमि छोडेर मुग्लानिएका युवाहरू, समयको थिचोमिचोले क्रुद्ध आमाहरू, पुरुष सत्ताको आडमा सीमा नाघ्ने मामाहरू, युद्धपछि वर्ग बदलिएका नेताहरू, सिक्रीले बाँधिएका पिपाहरू, परिचयको आशाको त्यान्द्रोको लडाईंमा रुमल्लिएका नागरिकताविहीनहरू र पुर्खाको सम्झनामा कविता लेख्नेहरूको कथा, व्यथा र चित्र पनि स्याङ्तानका कवितामा छन्।

    मार्क्सवादी समालोचनाले साहित्यिक सिर्जनालाई वर्गको सादृश्यमा हेर्छ। यसले वर्गको आवाज, अधिकार र समाज परिवर्तनको बारेमा धारणा बनाउँछ। मार्क्सवादी समालोचनाको आधार भनेको साहित्यलाई वैचारिक रूपमा हेर्नु, बुझ्नु र समाज परिवर्तनका लागि आधार बनाउनु हो। राजु स्याङ्तानका कविता त्यस्तै वैचारिक भाष्यका साधन बनेका छन्। ‘च्याङ्बाको रहर’ कवितामा उनले सृजना गरेको समाजको वैचारिकी यस्तो छः

    याम्बु जान्छु त भन्यौ च्याङ्बा

    के तिमी बाटो किन्न सक्छौ?

    माटो किन्न सक्छौ ?

    त्यहाँ त माया किन्न पर्छ

    तिम्रो आफ्नै छाया किन्न पर्छ

    …….

    किन्न सक्दैनौ भने

    तिमीलाई किन्ने छ याम्बुले

    उसले किनेपछि

    माग्नेछ तिम्रो मुटु

    माग्नेछ तिम्रो आँखा

    तिम्रो जिब्रो

    बख्खु, तागी, डम्फु

    अनि डम्फु माथिको चरो पनि

    …..

    अनि सुनाऔं सबै–सबैलाई

    लुटिएको हाम्रो

    याम्बुको कथा। (च्याङ्बाको रहर)

    उनका कविता विद्रोहका आवाज हुन्। यो कथ्यलाई सत्य मान्दा साहित्यमा दुईवटा मुख्य चासोहरू छन्। पहिलो कला र साहित्यको सन्दर्भले विगत र वर्तमानलाई जोड्छ। दोस्रो आधार र अधिसंरचनाको सान्दर्भिकता पनि पाइन्छ। अनि सुनाऔं सबै–सबैलाई/लुटिएको हाम्रो/याम्बुको कथाबाट कविले आधारलाई मानिस र सामाजिक सम्बन्धको रूपमा परिभाषित गरेर जोडेका छन्।

    आधारबाट एक अधिरचना जन्मन्छ जसमा कानुन, राजनीति, धर्म र साहित्यको आधारमा बन्ने सामाजिक वर्गहरूको शक्तिलाई वैध बनाउँछ। मार्क्सवादले कला र समाजको बीचमा ‘असमान सम्बन्ध’ रहेको टिप्पणी गर्छ।

    विचारले जीवन र संस्कृतिका पक्षहरूको बारेमा समाजमा मानिसहरू कसरी सोच्छन् भन्ने कुरा राजु स्याङ्तानले उद्घोष गरेका छन्। राजनीतिमा रहेको चेतनाले विश्वास र विश्वासको उज्यालो बाटोलाई जनाउँछ। उनका कविता सचेत रूपमा समाजको विचारधाराहरूलाई अभिव्यक्त गर्ने माध्यम बनेका छन्। आज नेपाली समाजमा पूँजीवादी आर्थिक प्रणालीले कसरी सिर्जनालाई नियन्त्रण वा प्रभाव पार्छ भन्ने कुरा पनि उनका कवितामा भेटिन्छ। उल्लिखित सन्दर्भ मात्र मिथकीय सिसिफसियन कल्पना मात्र हैन समयले सिसिफस बनाएका मानिसहरूको सचित्र आवाज हुन्।

    कमिलाका अन्तहन ताँती जस्ता

    ती सिसिफसहरू

    भोकले पटपटी फुटेको ओठ

    दश रुप्पेको मस्कले छोप्दै-छोप्दै गए। (जानेहरू)

    कसरी साहित्यिक सृजनाले समाज वरपरका विचारधाराहरूसँग अन्तरक्रिया गर्छ भन्ने कथ्य स्याङ्तानले प्रष्ट देखाएका छन्। लेखकको सामाजिक र राजनैतिक पृष्ठभूमिले पाठकलाई कसरी र कुन तहसम्म सूचित गर्दछ र कसरी साहित्यले वर्गमा जोड दिएर पात्रहरू र तिनीहरूको जीवनको चित्रणमा वरपरको संसारलाई प्रतिबिम्बित गर्छ भन्ने बुझ्न पनि ओ पेङ्दोर्जे वर्तमान समयको ऐना बनेको छ।

    “को म्हेन्दो” कवितामा स्याङ्तानले टोटोला फूलको महत्व बताएका छन्। तामाङ भाषामा म्हेन्दो भनेको टोटोलाको फूललाई उनीहरूको समुदायलाई प्रकृतिसित जोड्ने सांस्कृतिक पहिचान मानेका छन्। तामाङ समुदायमा टोटोलाको महत्व पवित्र मानिन्छ। कविता सङ्ग्रहको नाम ओ पेङ्दोर्जेको आवरणको रङ्ग म्हेन्दोको रङ्ग उस्तै देखिन्छ। तामाङ समुदायले बजाउने बाजा डम्फु र डम्फुमाथि बसेको चराले कलाको माध्यामबाट पाठकलाई पुरानो रैथाने सांस्कृतिक र सामाजिक सम्बन्धसित जोड्न खोजेका छन्। यस प्रक्रियामा कवि, पाठक र दर्शक एकै रेखाका सहयोगी बनेर समाजको वास्तविकताको अनुभूति गर्छन्। यो कथ्य बर्टोल्ट ब्रेख्तद्वारा विकसित वाल्टर बेन्जामिनको अवधारणाको परिष्कृत अनुभूति हो। यही अनुभूति गराउन कविले नयाँ गीत कवितामा गराएका छन्।

    आऊ म्हेन्दोमाया !

    किन बदलिएन समय ?

    किन फेरिएन हाम्रो कर्म ?

    यही चतारीमा बसौं

    आज एउटा अठोट गरौं

    म बजाउँछु डम्फु

    तिमी बजाऊ टुङ्ना

    रचना गरौ हामी

    अहिलेसम्म नगाएको स्वतन्त्रताको नयाँ गीत (नयाँ गीत)

    यो संग्रहमा सत्ता दमनको शक्ति विरुद्ध कविको रौद्ररुप देख्न सकिन्छ। इतिहासको हरेक घटनालाई दस्तावेजीकरण गरेर कविले सत्ता र समाजलाई पटक–पटक प्रश्न गरेका छन्। तामाङ समुदायको मात्रै नभएर नेपालका भुइँमान्छेको अस्तित्वको खोजी र अधिकारको आवाज उठाएका छन्।

    आधुनिकताले विद्रुपीकरण गरेको वर्तमान समयको सृजनालाई पुरानै मौलिकताको सादृश्यमा लगेर इतिहासको पुनर्लेखनको महत्व कवितामा बताएका छन्। “एउटा दासको घोषणापत्र” मा कविले मृत्युपर्यन्त पनि साङ्लामा बाँधिएका आप्पाहरूको आवाज निकालेका छन्।

    पुर्खाको हाडखोर साक्षी राखेर

    अब अस्वीकार गर्छु दासत्व

    चुढाउँछु अदृश्य जन्जिरहरू

    र लेखिदिन्छु आफ्नै रगतको मसीले

    यो गोलो पृथ्वीको निधारमा

    यो संसार हाम्रै हो।’ (एउटा दासको घोषणापत्र)

    “बालसखा” कवितामा कविले म र तिमी हुनुको विभेद गराएका छन्। शासक वर्गका विचारहरू भनेको हरेक समयमा राजनैतिक प्रणालीलाई साथ दिनेहरूका विचारहरू नै हुन्छन्। उत्पादनका भौतिक साधनहरू भएको वर्गले नै भौतिक सम्बन्धको अभिव्यक्ति दिन्छन् भन्ने जोड कविको छ। यसरी बनेका सम्बन्धहरूलाई अस्वीकार गरेर स्याङ्तानले ‘तिमी’ लाई शासक वर्ग र ‘म’ लाई परिवर्तनको बिम्बको रूपमा उभ्याएका छन्। गरिबको पक्षमा लाग्ने ‘म’ र शक्तिको पक्षमा लाग्ने ‘तिमी’ बीचको फरकपन नै समाज बदलिन नसकेको सोचका बुझाइको निष्कर्ष हो भन्ने कविले बताउँछन्।

    समयको लामो अन्तरालपछि

    आज सुने

    तिमी त सिंहदरबार पुग्यौ रे

    म त गरिब कोखमा जन्मिएँ

    गरिबकै बस्तीमा पुगे। (बालसखा)

    कविले सामाजिक असमानतालाई आर्थिक रेखामा स्तरीकृत गरेर समाज र सामाजिक वर्गलाई आर्थिक स्थितिमा परिभाषित गरिएको देखाएका छन्। यहाँ पनि वैभवले रङ्गिएको जीवन र समाज बदल्ने इच्छाशक्ति भएका मानिसको सोच फरक हुने तथ्य “एउटा प्रश्नपत्र” मा देखाएका छन्। आर्थिक स्थिति उत्पादनका साधनहरूसँगको सम्बन्ध हो, जसले सामाजिक वर्गलाई परिभाषित गर्छ।

    तिमी वैभवले रङ्गिएको

    ऐश्वर्यको न्द्रनगर खोज्ने कुरा गर्छौ

    म एक मुक्त मान्छे सहितको

    खुसीको संसार खोज्ने कुरा गर्छु

    तिमी उन्मत्तको बुई चढेर

    बादलमा कावा खाने कुरा गर्छौ

    म फाटिएका मनहरू सँगाल्दै

    समानताको टुकी बाल्ने कुरा गर्छु

    तिम्रो हृदयमा कल्पने तिर्सना फरक

    मेरो हृदयमा धड्कने सपना फरक

    तिमी अघाएका मान्छेहरू झुम्ने धुन राम्रो भन्छौ

    म भोकाएका मान्छेहरूको जून राम्रो भन्छु। (एउटा प्रश्नपत्र)

    कवि स्याङ्तानका कवितामा समाज भेटिन्छ। कवितामा बोल्नेहरूको आवाज सुनिन्छ। उनका कविताले सुन्ने मान्छेहरू खोजिरहेको छ। पक्कै पनि यी कविताहरू साना दुःखले आर्जेका कविता होइनन्। यहाँ मानिसका अभावका छटपटीहरू छन्। पात्रहरूका दुःखका ढुकढुकी छन्। बुझ्नेहरूका लागि चिन्ता र समाजका रङहरू छन्।

    “मजदुरको घोषणापत्रमा” मनको व्यथा आपाहरूको पुराना दुर्दिनसित जोडिएका छन्। महेन्द्र राजमार्ग बन्दा बन्न नसकेको “रामबहादुर मार्ग” र त्यसैको उत्तर खोज्न हिंडेको कविको आवाज मिसिएको छ। सिङ्गो शहर रङ्गाएर र घर बनाएर जीवनभर घर बाहिर थुनिएको हराएको दाइको कथा छ। उन्नाइस वर्षअघि जन्मिएकी अनागरिकको नागरिक बन्न नसकेको पीडा, नेतालाई जिताउन हारेको कमरेड विजयको सपना, अचानो बनेका मान्छेहरूको चोटको कथा, बन्धन चुँडाल्न करौंती बोकेकाहरूको आवाज, शहीद साङ्मोको गाथा आदि कविका चोटिला कथ्यहरू कवितामा पाइन्छन्। विश्व निर्माणको इतिहास र दमनका कथालाई पुर्खाको इतिहाससित जोडेर कविले पुर्खाको सम्झना यसरी गरेका छन्:

    थाहा छैन तिमी

    मेसोपोटामियाको लडाइँमा मारियौ कि

    बर्माको जङ्गलमा मारियौ

    मिश्रको नदी किनारमा छाडियौ कि

    इराकको मरभूमिमा गाडियौ

    तुर्कीको पहाडमा सडियौ कि

    मलायाको जङ्गलमा छाडियौ

    जापानको किल्लामा हरयौ कि

    जर्मनीको ट्याङकले कुल्चियो (पुर्खाको सम्झनामा)

    प्रिय कवि ! मेरो अगाडि एउटा भित्तो छ। भित्तोमा तिमीले कोरेका शब्दहरू पोखिए जस्तै लागेको छ। पोखिएका ती शब्दहरूबाट पेङ्दोर्जेले बनाएको डम्फुको चित्रदेखि सिमाना नहुनेहरूको दुःखका कथा, दश हजारमा बेचिनबाट बच्न ज्यो-ज्योसित जान खोजेको भाइको आत्मलाप, कोरोनाको महामारीको समयमा कीर्तिपुरको सडकमा मरेको सूर्यबहादुरले जिउँदा मान्छेहरूलाई कैंची र चक्कुले नभै कलमले पोष्टमार्टम गरेर इतिहासको खोजी गर्न गरेको अपिल आदि जस्ता कविता तिम्रा मनका आवाज हुन्।

    कविले दक्षिण अमेरिकी, क्यानाडेली, अष्ट्रेलियन, अफ्रिकीहरूलाई पनि आफूले पेङ्दोर्जे जस्तै आ-आफ्नो पेङ्दोर्जे खोज्न अनुरोध गरेका छन्। कवि स्याङ्तानले समाजमा एकअर्काको विरोध गर्ने विभिन्न वर्गहरूबीचको सङ्घर्षका कारण सामाजिक परिवर्तन हुन्छ भन्ने आधारबाट सुरु गरेर वर्ग र समुदायलाई शोषण र दमनबाट मुक्त गर्ने सन्देश दिन्छन्।

    उनको निष्कर्ष भनेको समाजमा बस्ने मानिसहरूको अन्तरसम्बन्धहरूको योगले नै नयाँ व्यक्तिहरूको आवाज बनेर खडा हुने कथ्य पिपाको हुङ्कारमा देखाएर भुइँमान्छेहरूलाई सम्झाएका छन्:

    सुनकोशीको रानीदहमा तैरिरहेको

    रेन्जेन दोर्जेको टाउको बोकेर

    दुई सय अन्ठाउन्न वर्षपछि आज

    याम्बुको सडकमा उभिएको छु

    मलाई सालिकमुनि किचेर मेरो याम्बुमाथि रजाइँ गर्ने

    ओ शासकहरू !

    समयको रथलाई

    कहाँ लुकेर तान्दै छौ आफूतिर

    सडकमा आऊ। (पिपाको हुङ्कार)

    लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन्।  


    फास्ट न्युज
  • शनिबार, १ बैशाख २०८१
  • सम्बन्धित समाचार