logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • ज्वाइँले ससुरालाई टीका लगाएर पद थमाइदिने कांग्रेस २.०

    838Shares
    ज्वाइँले ससुरालाई टीका लगाएर पद थमाइदिने कांग्रेस २.०

                       समाचार टिप्पणी 
    नेपाली कांग्रेसमा अहिले संगठनभन्दा सम्बन्ध, विधिभन्दा नातागोता र प्रक्रियाभन्दा पारिवारिक रसायन बढी बलियो देखिन थालेको टिप्पणी हुन थालेको छ। अमेरिकास्थित नेपाली जनसम्पर्क समितिको संयोजकमा धनञ्जय नरसिंह केसी नियुक्त भएपछि सामाजिक सञ्जालमा यस्तै व्यङ्ग्यात्मक चर्चा चुलिएको छ। संयोग यति रोचक छ कि केही वर्षअघि सार्वजनिक कार्यक्रममा अर्जुन नरसिंह केसीले गगन थापालाई टीका लगाइदिएको तस्वीर निकै चर्चित बनेको थियो। अहिले भने राजनीतिक टीकाको पालो उल्टिएको देखिन्छ। 
    नियुक्ति आफैंमा अस्वाभाविक होइन। तर नियुक्तिपत्रमा हस्ताक्षर गर्ने कांग्रेस सभापति गगन थापा र नियुक्ति पाउने धनञ्जय नरसिंह केसीबीचको पारिवारिक सम्बन्धले यो निर्णयलाई राजनीतिकभन्दा बढी पारिवारिक बनाइदिएको टिप्पणी भइरहेको छ।
    किनभने धनञ्जय नरसिंह केसी, कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीका सहोदर भाइ हुन्। अर्जुन नरसिंह केसी भने गगन थापाका ससुरा। यस हिसाबले हेर्दा नियुक्ति पाउने व्यक्ति सभापतिको काका–ससुरा पर्न जान्छन्।

    संयोग यति रोचक छ कि केही वर्षअघि सार्वजनिक कार्यक्रममा अर्जुन नरसिंह केसीले गगन थापालाई टीका लगाइदिएको तस्वीर निकै चर्चित बनेको थियो। अहिले भने राजनीतिक टीकाको पालो उल्टिएको देखिन्छ। केही दिन अघि सभापति गगन थापाले हस्ताक्षर गरेर आफ्नै काका–ससुरालाई जिम्मेवारीको “टीका” लगाइदिएका छन्।
    कांग्रेसले भने यसको स्पष्ट कारण पनि दिएको छ। लामो समयदेखि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन नसकेको, तत्कालीन अध्यक्ष गोरखबहादुर (आनन्द) बिष्ट निर्वाचनमा उम्मेदवार भइसकेको र संगठनलाई अधिवेशनसम्म पुर्‍याउन नेतृत्व आवश्यक परेको भन्दै केसीलाई संयोजक बनाइएको हो।
    तर आलोचकहरू सोधिरहेका छन्—अमेरिकाजस्तो विशाल प्रवासी संगठनमा जिम्मेवारी दिन योग्य व्यक्ति खोज्दा अन्ततः सभापतिको आफन्तमै पुग्नुपर्ने अवस्था किन आयो ?
    कांग्रेसभित्र अहिले तरुण दल, महिला संघ, विद्यार्थी संगठनदेखि विभिन्न संरचनामा भइरहेका नियुक्तिमाथि पनि प्रश्न उठिरहेका बेला यो निर्णयले थप चर्चा पाएको छ।
    राजनीतिमा योग्यता र अनुभवभन्दा नाता–सम्बन्ध बलियो भयो कि भन्ने आशंका बढिरहेका बेला सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक टिप्पणी निकै भाइरल बनेको छ—
    “ससुराले ज्वाइँलाई टीका लगाइदिएको त देखिएकै हो, तर ज्वाइँले ससुरालाई टीका लगाइदिएको दृश्य हेर्न कांग्रेस २.० आउनैपर्ने रहेछ !”
    अन्ततः कांग्रेसले यसलाई संगठन व्यवस्थापनको निर्णय भन्न सक्छ। तर जनताले भने यसलाई “परिवार व्यवस्थापन” को नमुना ठान्ने कि नठान्ने, त्यो उनीहरूको विवेकमा छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट