काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
समितिका संयोजक अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन प्रधानमन्त्री बालेन शाहसमक्ष पेश गरिएको जानकारी दिए।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले गुरुङमाथि उठेका आरोपबारे सम्बन्धित निकाय तथा व्यक्तिसँग जानकारी लिने, आर्थिक तथा सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका कार्य गरेको जनाएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए।
यसअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सेयर स्वामित्व लुकाएको, विवादास्पद व्यवसायीसँग सम्बन्धित कम्पनीमा लगानी रहेको लगायतका आरोप सार्वजनिक भएपछि गुरुङले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। त्यसयता उनको सम्पत्ति विवरण, जग्गा, सुन तथा अन्य लगानीका विषयमा विभिन्न प्रश्न र टिप्पणी उठ्दै आएका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया