काठमाडौं — निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको कामका क्रममा काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’ मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि विद्युत् आपूर्ति प्रभावित भएको हो ।
बिहान ६:४० बजेदेखि १३२ केभीका दुई प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट–खिम्ती–भक्तपुर–स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो ।
तर बिहान ८:५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भयो । त्यसपछि बिहान ९:१८ बजे सोही प्रसारण लाइनको सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।
दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणको भनाइ छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया