खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा लाखौँको क्षति भएको छ भने मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो ।
अविरल वर्षापछि आएको बाढी तथा पहिरोले अर्खौलेको नागी, मुढे, भालुखोलालगायत विभिन्न ठाउँमा ठूलो क्षति गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मध्यपहाडी लोकमार्गमा गएको बाढी तथा पहिरो पन्छाउन सम्बन्धित स्थानीय तह तथा सडक विभागको स्काभेटर र जेसिबी प्रयोग गरिएको छ ।
जिल्लामा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ । दिक्तेल–हलेसी सडकखण्डको नागीमा गएको पहिरो करिब पाँच सय मिटर फराकिलो भएकाले खुलाउन समय लाग्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
भालुखोलामा पहिरो खसेर दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध हुँदा शव पनि अलपत्र परेको छ । भुन्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी एक महिलाको शव दाहसंस्कारका लागि घर फर्काउने क्रममा रोकिएको हो ।
बाढी तथा पहिरोका कारण मध्यपहाडी लोकमार्गका सडकहरु अवरुद्ध हुँदा यात्रुहरु बीचसडकमै अलपत्र परेका छन् ।
दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी छिर्दा दिक्तेलबजारस्थित किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ । लगातारको वर्षाका कारण दिक्तेल र बाम्राङको सिमानामा रहेको खहरेखोला थुनिएर बाढी आउँदा दिक्तेलको किरातचोक आसपासका घर तथा पसलमा क्षति पुगेको हो ।
मध्यपहाडी लोकमार्गले बनाएको नाली थुनिएपछि खहरेखोलामा आएको बाढी सिधै बजारमा छिरेको थियो । बस्तीमा छिरेको बाढीले किरातचोकमा सञ्चालित होटल तथा पसलमा लाखौँको क्षति गरेको छ । होटल तथा पसलमा बिक्रीका लागि राखिएका लाखौँ मूल्यका सामानहरु पानीले काम नै नलाग्नेगरी भिजेका छन् ।
पहिरोले किरातचोकस्थित इकिमा इन्टरप्राइजेजद्वारा सञ्चालित होन्डा शोरुमसमेत हिलाम्मे भएको छ । पहिरोले शोरुममा राखिएका रु १५ लाखभन्दा बढीको सामानमा क्षति भएको सञ्चालक किरणजित राईले बताए । घरभन्दा माथिबाट झरेको पहिरोले शोरुम भन्दा पछाडिपट्टि रहेको कुखुरा फार्मसमेत पुरिएको छ ।
यस्तै, पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित हलेसी आयल ट्रेड एन्ड सप्लायर्समा पनि क्षति गरेको छ । पेट्रोल पम्पभन्दामाथि निर्माण गरिएको सडकबाट पहिरो झर्दा पेट्रोल पम्पको ट्याङ्कीमा ठूलो क्षति हुन पुगेको छ ।
बाढी तथा पहिरोले जिल्लामा पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
“दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा लाखौँको क्षति गरेको छ । अहिलेसम्म मानवीय क्षति भएका छैन”, उनले भने, “क्षतिग्रस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । अहिले पनि बाढी तथा पहिरो जानेक्रम रोकिएको छैन । क्षतिग्रस्त क्षेत्रमा खटिएका टोलीले उद्धार गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा- नेर्पा सडक खण्डमा बाटो बिग्रदा यात्रुहरुले दुख नपाओस भनेर नेबिसंघ खोटाङका अध्यक्ष मोतीचन्द्र राई लगायत स्थानिय सोल्माली युवाहरुले दिनभर श्रमदान गरेर बाटो मर्मत गरेका थिए।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd