logo

२०८३ आश्विन १७ शनिबार

logo
  • २०८३ आश्विन १७ शनिबार
  • दोलखा कांग्रेस अधिवेशनमा गगन समूहभित्रै तनाव, सहमति कि निर्वाचन भन्नेमा अन्योल

    823Shares
    दोलखा कांग्रेस अधिवेशनमा गगन समूहभित्रै तनाव, सहमति कि निर्वाचन भन्नेमा अन्योल

    दोलखा । नेपाली कांग्रेस दोलखाको जिल्ला अधिवेशन चरिकोटस्थित सिम्पानीमा सुरु भएसँगै पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आएको छ। विशेषगरी महामन्त्री गगन थापा निकट मानिने नेताहरूबीच नै सहमति जुटाउन कठिन भएपछि अधिवेशनको परिणामलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।
    अधिवेशनमा सहभागी एक नेताका अनुसार गगन थापा निकट मानिने अजय शिवाकोटी र जीपछिरिङ लामा लगायतका नेताहरू अहिले सहमति र निर्वाचनबीचको कठिन परिस्थितिमा छन्। ती नेताका अनुसार सहमति गरेर नेतृत्व चयन गर्ने प्रयास भए पनि क्षेत्रीय प्रतिनिधिहरू त्यसका लागि तयार देखिएका छैनन्। अर्कोतर्फ निर्वाचनमा जाँदा संस्थापनइतर समूहका प्रभावशाली नेताहरूको चुनौती सामना गर्नुपर्ने अवस्था रहेको उनको दाबी छ।
    दोलखामा संस्थापनइतर धारका प्रभावशाली नेताका रूपमा कुन्दनराज काफ्ले, तारा कोइराला र रुद्रबहादुर खड्कालाई रहेको छ। काफ्ले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान अर्थमन्त्री हुन्। कोइराला पूर्व सांसद तथा पूर्व जिल्ला पार्टी सभापति हुन् भने खड्का पूर्व जिल्ला पार्टी सभापति तथा पूर्व जिल्ला विकास समिति सभापति हुन्।
    पार्टीभित्रको शक्ति समीकरणमा यी नेताहरूको प्रभावले अधिवेशनको परिणाममा असर पार्न सक्ने सहभागीहरूको आकलन छ। एक कांग्रेस नेताका अनुसार दोलखा अधिवेशनमा काफ्ले र कोइराला पक्षसँग निकट रहेका केही कार्यकर्ता गगन थापा समूहमा क्षेत्रीय प्रतिनिधि रहेको देखिएपछि समूहगत समीकरण थप जटिल बनेको छ।
    “सहमति गरौँ भने प्रतिनिधिहरू मान्ने अवस्था छैन, निर्वाचनमा जाँदा परिणाम आफ्नो पक्षमा नआउने चिन्ता छ,” अधिवेशनमा सहभागी एक नेताले भने। उनका अनुसार यही कारण शिवाकोटी र लामासहित थापा निकट नेताहरू दबाबमा देखिएका छन्।
    अधिवेशनमा निर्वाचन भएमा संस्थापनइतर समूहका प्रतिनिधिहरुले उनी दुईको बाजा बजाउने वाला छ।र्धा निर्वाचन नगरी सहमतिबाट नेतृत्व चयन गर्न खोजे कार्यकर्ताबीच असन्तुष्टि बढ्न सक्ने अवस्था रहेको ती नेताको भनाइ छ।
    अर्का संस्थापन पक्षीय नेताले दोलखामा गगन समूहको संगठनभित्र काफ्ले र तारा कोइराला समूहसँग निकट रहेका उल्लेख्य कार्यकर्ता सक्रिय रहेको दाबी गरेका छन्। उनका अनुसार यो पक्षको वास्तविक शक्ति अधिवेशनका क्रममा मात्र स्पष्ट रूपमा देखिन थालेको हो।
    यसैबीच, अधिवेशनको नेतृत्व चयन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयले कांग्रेस वृत्तमा चासो बढाएको छ। सहमतिमार्फत नेतृत्व चयन हुन नसके निर्वाचनमा जाने सम्भावना रहेको छ। निर्वाचन भएमा दोलखाको कांग्रेसभित्रको विद्यमान शक्ति समीकरण थप स्पष्ट हुने देखिन्छ।
    अधिवेशनको अन्तिम परिणामले जिल्लामा कुन समूहको संगठनात्मक प्रभाव कति छ भन्ने समेत निर्धारण गर्ने भएकाले अहिले चरिकोटमा जारी कांग्रेस अधिवेशनलाई जिल्लाको आन्तरिक शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट