logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

    1KShares
    आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

    काठमाण्डौ ।आज डिसेम्बर १८ तारिख अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिन्छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउनु दिवसको मुख्य उदेश्य हो । नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।

    सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्त्वपूर्ण मानिन्छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले ठूलो योगदान पुर्‍याउँदै आएको छ । भारतबाहेक विश्वका एक सय ७३ देशमा नेपाली श्रमिक पुगेको तथ्याङक छ ।

    श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति भए पनि नीतिअनुसार काम हुन नसकेको गुनासो छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने उल्लेख छ ।

    श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य देशसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्ने र त्यही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने नीति छ ।आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिई ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई ९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सुरक्षित एवम् मर्यादित वैदेशिक रोजगारीका लागि चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुहुन्छ । दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मन्त्रालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीलगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

    गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास आप्रवासनका मुख्य आयाम मानिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, सन् २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट