काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागी घटनामा दुई एसपीसहित ९ जना कारबाहीमा परेका छन् ।
कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र एक जवान छन् ।
स्रोतका अनुसार एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ । सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २६ चैत २०८० मा आगलागी हुँदा श्रेष्ठ सशस्त्रको भण्डारण महाशाखाका प्रमुख थिए ।
भण्डारणको जिम्मा पाएका श्रेष्ठले गोदामको सुरक्षा गर्न नसकेको निष्कर्षसहित छानबिन समितिले एसपी श्रेष्ठलाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि सशस्त्र हेडक्वाटरले स्पष्टीकरण सोध्यो सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११८ मा सजाय दिनु पहिला स्पष्टीकरण सोध्नुपर्ने उल्लेख छ ।
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि एसपी श्रेष्ठलाई चार वर्षसम्म बढुवा रोक्का गरिएको सशस्त्रको कानून शाखाले बताएको छ ।
एसपीको चार वर्षसम्म बढुवा रोक्ने कारबाहीको आधिकार सशस्त्र प्रहरी नियमावलीले एसएसपी र डीआईजीलाई दिएको छ भएको, तर बेलैमा तदारुकता नदेखाउँदा आगो नियन्त्रण गर्न नसकिएको समितिले औंल्याएको थियो ।
डीएसपी नारायण सेढाईलाई पनि कारबाही गरिएको छ । सेढाईलाई नसियत दिइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । त्यस्तै सशस्त्र प्रहरी निरीक्षकद्धय (इन्सपेक्टर) गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेलाई पनि नसियत दिइएको छ ।
सशस्त्र प्रहरी नियमावलीको दफा २२ अनुसार नसियत पाएको सशस्त्र प्रहरी कर्मचारीले एक वर्षसम्म बढुवा हुन पाउँदैनन् ।
सशस्त्र प्रहरीको गोदाममा २६ चैतको अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए । भूकम्प अघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो ।
बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालयमा पनि सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो । त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो । त्यही गोदाममा आगलागीको घटनापछि सशस्त्र प्रहरी हेडक्वाटरले एसपी खत्रीसहित गेटमा ड्युटीमा खटिएका गरी ११ जनालाई हेडक्वाटर तानेर छानबिन गरेको थियो । गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।
गोदामको व्यवस्थापन नंं ९ पशुपति बाहिनीमा गरिएको तर यसको सुरक्षाका लागि डेडिकेटेड जनशक्ति नराखिएकाले ठूलो घटना हुन पुगेको समितिको निष्कर्ष छ ।
तर के कारण आगलागी भयो भन्नेबारे दुवै समितिले यकिन उल्लेख गरेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिए पनि यही कारण आगलागी भयो भनेर समितिले किटान गरेको छैन ।
सुरक्षा संवेदनशीलताको हिसाबले पनि महत्पवूर्ण मानिएको उक्त गोदाममा सीसी क्यामेरा समेत जडान नगरीको भन्दै सुरक्षा संवेदनशीलतामा कमजोरी औंल्याएको थियो । गोदाम सुरक्षाका लागि भनेर छुट्टै एउटा सेन्ट्री समेत नराखिएको, फायर डिटेक्टर र सर्भिलेन्स हुनुपर्नेमा समेत नभएको समितिले औंल्याएको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd