काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका संस्थापक नेता बीपी कोइराला र गणेशमान सिंहको राजनीतिक विरासतलाई व्यक्तिगत स्वार्थ र गुटगत राजनीतिसँग जोड्ने प्रयासप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौंमा आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन गर्दै थापाले बीपी र गणेशमानजस्ता नेताको योगदानलाई कुनै व्यक्ति वा परिवारको राजनीतिक सम्पत्तिका रूपमा प्रस्तुत गर्न नहुने बताएका हुन् ।
उनले बीपीको नाममा लामो समयदेखि राजनीतिक लाभ लिँदै आएका व्यक्तिहरूले अहिलेको राजनीतिक निराशाको समयमा समेत उनको विरासतलाई आफूअनुकूल प्रयोग गर्न सक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने धारणा राखे ।
“बीपी र गणेशमानलाई कसैको घरभित्र कैद गर्न दिनु हुँदैन,” थापाले भने, “बीपीलाई बेच्ने ढंगबाट हुने प्रयास रोक्न अझै धेरै बोल्नुपर्छ, लेख्नुपर्छ ।”
थापाको भनाइमा अहिलेको चुनौती बीपीको नाम लिनु मात्रै नभई उनले देखाएको राजनीतिक आदर्श, संघर्ष र लोकतान्त्रिक चेतनालाई सार्वजनिक बहसमा स्थापित गर्नु हो । त्यसका लागि इतिहासलाई व्यक्ति विशेषको प्रभावबाट बाहिर ल्याउनुपर्ने उनको संकेत थियो ।
उनले पछिल्लो समय नेपाली राजनीतिमा देखिएको निराशाप्रति पनि चिन्ता व्यक्त गरे । सबै राजनीतिक दलका नेता–कार्यकर्ता निराश अवस्थामा रहेको उल्लेख गर्दै थापाले राजनीतिक संघर्षको मूल्य र उपलब्धिको अर्थलाई नयाँ ढंगले बुझ्नुपर्ने बताए ।
“पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे पनि निराश छ । यस्तो अवस्थाले हाम्रो समाज निराशातिर जान्छ,” उनले भने, “संघर्षभन्दा प्राप्तिको कुरा मात्रै प्राथमिकतामा राख्ने भएपछि समाज कहाँ जान्छ ?”
थापाले राजनीतिक उपलब्धि र पदलाई मात्रै केन्द्रमा राख्दा समाजमा निराशा बढ्ने भन्दै राजनीतिलाई संघर्ष, विचार र परिवर्तनसँग जोड्नुपर्ने धारणा राखे ।
यसैबीच, कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई लिएर आफूलाई तत्काल प्रश्न नगर्न पनि उनले आग्रह गरे । भेलाबारे पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर जानकारी दिने भन्दै थापाले पछिल्ला तीन दिनमा आफूविरुद्ध अत्यधिक आलोचना भएको टिप्पणी गरे ।
“यसबारे म भोलि पार्टी कार्यालयमै बोलाएर सबैलाई बताउँछु । मेरो जीवनमा जति निन्दा भएको छ, यो तीन दिनमा भएको छ,” उनले भने ।
थापाले नेपाली कांग्रेसलाई राष्ट्रिय शक्ति भएको दाबी गर्दै पार्टीभित्र देखिएका विवाद र असन्तुष्टिबीच कांग्रेसको भूमिका अझ महत्वपूर्ण रहेको संकेत गरे । उनको अभिव्यक्तिले एकातिर बीपीको विरासतलाई गुटगत दायराबाट बाहिर ल्याउने प्रयास देखाएको छ भने अर्कोतिर पछिल्लो राजनीतिक निराशा र कांग्रेसभित्रको विवादलाई समेत जोडेर नयाँ बहसको संकेत गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया