काठमाडौं, लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि शनिबार देशका २५ जिल्लामा दिन र रात दुवै समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउन सुझाव दिइएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको र नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खस्दा सडक प्रभावित भइरहेका छन्। जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले जिल्लाहरूलाई जोखिमका आधारमा वर्गीकरण गरेको हो।
उच्च जोखिममा रहेका हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत २५ जिल्लामा शनिबार दिन र रात दुवै समयमा सवारीसाधन सञ्चालन नगर्न भनिएको छ।
त्यस्तै २९ जिल्लामा रातिको समयमा सवारी सञ्चालन बन्द गर्न सुझाव दिइएको छ। ती जिल्लामा दिउँसोको सडक तथा मौसमको अवस्था हेरेर स्थानीय मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरिएको छ। यस समूहमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङलगायतका जिल्ला छन्।
बाँकी २३ जिल्लालाई सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।
सडक विभागले पनि वर्षाका कारण सडक तथा यातायातमा जोखिम बढेकाले अत्यावश्यकबाहेक अनावश्यक यात्रा नगर्न र यात्रा गर्नुपरेमा सम्बन्धित निकायबाट जारी हुने सूचना हेरेर मात्रै सडकमा निस्कन आग्रह गरेको छ। सडक विभागको आधिकारिक वेबसाइटमा वर्षाका कारण सडक अवरोध तथा यातायात सञ्चालनसम्बन्धी सूचनाहरू नियमित रूपमा अद्यावधिक भइरहेका छन्।
वर्षा जारी रहेकाले जोखिमयुक्त सडक, नदी तथा खोला आसपास अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया