काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व परिवर्तनसँगै ‘नयाँ कांग्रेस’, विधि, पारदर्शिता र सुशासनको नारा अघि सार्दै आएका सभापति गगनकुमार थापाको कार्यशैलीमाथि पार्टीभित्रै प्रश्न उठेको छ।
१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यबाट पुनः अध्यावधिकका नाममा रकम उठाइएको र उक्त रकम पार्टीको आधिकारिक खातामा सिधै जम्मा नगरी निजी कम्पनी ‘टेक हिमालय सफ्टवेयर सोलुशन प्रा.लि.’ को ई–सेवा खातामार्फत संकलन गरिएको विषय सार्वजनिक भएपछि आर्थिक पारदर्शिता र संस्थागत प्रक्रियाको पालना कसरी भइरहेको छ भन्ने प्रश्न उठेको हो।
कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गरेको थियो। तर लाखौँ सदस्यसँग जोडिएको प्रक्रियामा उठेको रकम निजी कम्पनीको खातामा पुगेको विषयले आर्थिक कारोबारको पारदर्शितामाथि प्रश्न उठाएको छ।
कम्पनीका चिफ एक्जुकेटिभ अफिसर आशिष ढकालले अध्यावधिकबापतको रकम केही दिन आफ्नो कम्पनीको खातामा जम्मा भएको स्वीकार गरेको बताइएको छ। उनका अनुसार उक्त रकम पछि कांग्रेसको खातामा पठाइएको थियो।
यससँगै प्रश्न उठेका छन्—पार्टीको आफ्नै बैंक खातामा सिधै रकम जम्मा गर्न सकिने अवस्थामा निजी कम्पनीको ई–सेवा खाता किन प्रयोग गरियो? यस्तो निर्णय कांग्रेसको कुन निकायले गर्यो? कम्पनीसँग भएको सम्झौता के हो र रकम कति समय त्यहाँ रह्यो?
यी प्रश्नको विस्तृत जवाफ सार्वजनिक भएको छैन। अध्यावधिकका नाममा कांग्रेसले कुल कति रकम संकलन गर्यो, कति सदस्यले अध्यावधिक गरे, प्रत्येकबाट कति रकम उठाइयो र निजी कम्पनीको खातामा कति जम्मा भयो भन्ने आधिकारिक विवरणसमेत सार्वजनिक गरिएको छैन।
सदस्यबाट उठाइएको रकमको कारोबारमा पार्टीको आधिकारिक खाता, लेखा प्रणाली र लेखापरीक्षण प्रक्रिया स्पष्ट हुनुपर्ने हुन्छ। निजी कम्पनीमार्फत रकम संकलन गरिएको हो भने त्यसको संस्थागत आधार, सम्झौता, सेवा शुल्क, कारोबार विवरण र रकम हस्तान्तरणको प्रमाण सार्वजनिक गर्नुपर्ने देखिन्छ।
यस विषयमा प्रतिक्रिया लिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपासँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन नसकेको बताइएको छ।
गगन थापाले लामो समयदेखि कांग्रेसभित्र विधि, प्रक्रिया, सुशासन र रूपान्तरणको मुद्दा उठाउँदै आएका छन्। तर उनको नेतृत्वमा क्रियाशील सदस्यता अध्यावधिकको रकम निजी कम्पनीको खातामार्फत संकलन भएको विषयले कार्यशैलीमाथि नै प्रश्न उठाएको छ।
प्रश्न रकम अन्ततः कांग्रेसको खातामा पुग्यो कि पुगेन भन्नेमा मात्रै सीमित छैन।
पार्टीको रकम पार्टीकै खातामा सिधै जम्मा गर्न सकिने अवस्थामा निजी कम्पनीको खाता किन प्रयोग गरियो?
यदि कम्पनीलाई प्राविधिक वा भुक्तानी व्यवस्थापनका लागि प्रयोग गरिएको हो भने त्यससम्बन्धी निर्णय, सम्झौता, शुल्क र रकम हस्तान्तरणको प्रमाण सार्वजनिक हुनुपर्ने हो।
गगन थापाको नेतृत्वमा बनेको नयाँ राजनीतिक समीकरणले पनि कांग्रेसभित्र बहस जन्माएको छ। थापाले विगतमा शेरबहादुर देउवा नेतृत्वको समूह र त्यससँग जोडिएका कतिपय नेतामाथि प्रश्न उठाउँदै आएका थिए। तर अहिले तिनैमध्ये केही नेताहरू थापा नेतृत्वको समूहमा महत्वपूर्ण भूमिकामा देखिन थालेपछि राजनीतिक मापदण्ड र व्यवहारबीचको अन्तरबारे प्रश्न उठिरहेको छ।
बालकृष्ण खाण, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, तारामान गुरुङ, नैनसिंह महरलगायतका नेताहरूलाई लिएर विगतमा विभिन्न राजनीतिक विवाद तथा सार्वजनिक प्रश्न उठेका थिए। अहिले उनीहरूमध्ये केही थापा नेतृत्वको समूहसँग नजिक देखिनु र जिम्मेवारी पाउनु नयाँ राजनीतिक समीकरणको पक्ष बनेको छ।
यसले प्रश्न जन्माएको छ—हिजो देउवा समूहमा हुँदा आलोचनाको विषय बनेका नेताहरू आज आफ्नो समूहमा आएपछि उनीहरूप्रतिको दृष्टिकोण किन बदलियो?
राजनीतिमा गठबन्धन र समूह परिवर्तन अस्वाभाविक होइन। तर आफूले उठाएको नैतिक र राजनीतिक मापदण्ड आफ्नै नेतृत्वमा पनि समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न नेतृत्वसँग जोडिन्छ।
यसबीच क्रियाशील सदस्यता अध्यावधिकको रकम निजी कम्पनीको खातामा पुगेको विषय थपिएपछि ‘पुरानो कांग्रेसको शैली बदल्ने’ दाबी र व्यवहारबीचको अन्तरबारे बहस चर्किएको छ।
कुल कति रकम उठ्यो, कुन माध्यमबाट उठ्यो, कम्पनीको भूमिका के थियो, कसको निर्णयमा व्यवस्था गरिएको थियो, शुल्क वा कमिसन दिइयो कि दिइएन र कांग्रेसको खातामा कति रकम कहिले जम्मा गरियो—यी विवरण सार्वजनिक भए विवादको वास्तविकता स्पष्ट हुनेछ।
तर आधारभूत प्रश्नको जवाफ नदिई ‘पारदर्शिता र सुशासन’को कुरा मात्रै गरिरहने हो भने गगन थापा नेतृत्वको ‘नयाँ कांग्रेस’ र पुरानो कार्यशैलीबीचको भिन्नता कहाँ छ ? भन्ने प्रश्न झन् बलियो बन्नेछ।
अहिलेको मूल प्रश्न यही हो—क्रियाशील सदस्यबाट उठाइएको कांग्रेसको पैसा कांग्रेसकै खातामा किन गएन ?
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया