logo

२०८३ भाद्र २२ सोमबार

logo
  • २०८३ भाद्र २२ सोमबार
  • जसपा एकीकरणको असन्तुष्टि नवलपरासीमा पोखियो, उपेन्द्रको कार्यक्रममा पूर्वलोसपा पक्षको बहिष्कार

    703Shares
    जसपा एकीकरणको असन्तुष्टि नवलपरासीमा पोखियो, उपेन्द्रको कार्यक्रममा पूर्वलोसपा पक्षको बहिष्कार

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा पूर्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट समाहित भएका नेता–कार्यकर्ताको असन्तुष्टि नवलपरासीमा सार्वजनिक रूपमा पोखिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी अगुवा कार्यकर्ता भेलामै लोसपा पृष्ठभूमिका जिल्ला अध्यक्ष मुकुर गिरीसहितका नेता–कार्यकर्ताले नेतृत्वप्रति प्रश्न उठाउँदै कार्यक्रम बहिष्कार गरेका छन्।

    नवलपरासीमा भएको घटनालाई एउटा कार्यक्रममा भएको सामान्य भनाभनभन्दा पनि पार्टी एकीकरणपछि पूर्वलोसपा पक्षमा देखिएको असन्तुष्टिको अभिव्यक्तिका रूपमा हेरिएको छ। विशेषगरी लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीबाट निष्कासन र केन्द्रीय समितिमा प्रदेशको प्रतिनिधित्वलाई लिएर असन्तुष्टि बढिरहेका बेला जिल्ला तहमा समेत त्यसको असर देखिएको हो।

    जसपा नवलपरासीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले सम्बोधन गरेपछि जिल्ला अध्यक्ष गिरीले लुम्बिनी प्रदेशप्रति पार्टी नेतृत्वले गरेको व्यवहारबारे प्रश्न उठाएका थिए। उनले हालै गठन गरिएको २७९ सदस्यीय केन्द्रीय समितिमा मधेश प्रदेशका आठ जिल्लाबाट २११ भन्दा बढी सदस्य राखिएको तर १२ जिल्ला रहेको लुम्बिनी प्रदेशबाट १८ जनालाई मात्रै समेटिएको भन्दै आपत्ति जनाएका थिए।

    गिरीले पार्टीको प्रदेश कमिटी र संसदीय दल हुँदाहुँदै लुम्बिनी प्रदेशका चार सांसदलाई केन्द्रबाट कारबाही गरिएको विषयमा पनि प्रश्न उठाएका थिए। प्रदेशको अवस्थाबारे स्थानीय नेतृत्वसँग समन्वय नगरी निर्णय गरिएको भन्दै उनले नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए।

    पार्टीको नीतिविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको आरोपमा जसपाले शुक्रबार सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गरेको थियो। उक्त निर्णयपछि लुम्बिनीमा पूर्वलोसपा पृष्ठभूमिका नेता–कार्यकर्ताको असन्तुष्टि थप बढेको गिरीको दाबी छ।

    कार्यक्रममा गिरीले मधेश आन्दोलनलगायतका राजनीतिक आन्दोलनमा अन्य नेता–कार्यकर्ताको योगदानलाई बेवास्ता गर्ने गरी अभिव्यक्ति दिन नहुने भन्दै यादवको आलोचना गरेका थिए। आफूले उठाएका विषयमा यादवले बीचमै रोक्न खोजेपछि विवाद चर्किएको र आफूहरूले कार्यक्रम बहिष्कार गरेर हिँडेको गिरीले बताएका छन्।

    गिरीका अनुसार पूर्वलोसपा पृष्ठभूमिका ३०–४० जना नेता–कार्यकर्ताले कार्यक्रम बहिष्कार गरेका थिए। उनले नेतृत्वले लुम्बिनी प्रदेशलाई आफूखुसी निर्णय गर्ने क्षेत्रका रूपमा व्यवहार गर्न नहुने भन्दै पार्टीभित्र प्रदेशको अधिकार र प्रतिनिधित्वको विषय उठाएका छन्।

    तर, साविक जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले घटनालाई विवाद वा सामूहिक बहिष्कारका रूपमा व्याख्या गर्न अस्वीकार गरेका छन्। उनका अनुसार कार्यक्रमको समापनका क्रममा गिरीले अन्य पार्टीको पक्षमा धारणा राखेपछि अध्यक्ष यादवले जसपामा बसेपछि पार्टीको नीति र नियमअनुसार अघि बढ्न सम्झाएका मात्र हुन्।

    ‘त्यो धेरै ठूलो कुरा थिएन। गिरीजीले समापनका समयमा अरू पार्टीको पक्षमा बोल्नुभएको थियो। उपेन्द्रजीले जसपा नेपालमा बसेपछि अरू पार्टीको पक्षमा कुरा नगर्न र पार्टीको नीति र नियममा रहन सम्झाउनुभएको हो,’ धरेन्द्रले भने।

    पूर्वलोसपा र साविक जसपाका संरचना पूर्ण रूपमा समायोजन भइनसकेको अवस्थामा नवलपरासीको घटनाले जसपाभित्र एकीकरणपछिको व्यवस्थापन अझै सहज नभएको संकेत गरेको छ। लुम्बिनी प्रदेशमा नेतृत्व, सांसदको कारबाही र केन्द्रीय समितिमा प्रतिनिधित्वलाई लिएर उठेको असन्तुष्टि अब जिल्ला तहका कार्यक्रममा समेत सार्वजनिक रूपमा देखिन थालेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट