धरान । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दैछ। तर, चार महिनाअघि मात्रै पार्टीमा प्रवेश गरेको सुदन किराती नेतृत्वको समूहलाई बैठकमा निम्तो नदिइएको भन्दै असन्तुष्टि देखिएको छ।
पार्टी बैठकमा बोलावट नभएपछि किराती आफ्ना समूहका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन्। किरातीका सहयोगी नवीन मास्केका अनुसार एकतापछि पार्टीमा आएको समूहलाई बैठकबारे जानकारीसमेत दिइएको छैन।
‘पार्टी बैठकमा त बोलाइएको छैन,’ मास्केले भने, ‘एकतापछि आएको समूहलाई खबर नै भएन। उहाँहरू (सुदन किराती) अहिले छलफलमा हुनुहुन्छ।’
यता, श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिन गुरुङले भने आजको बैठकबाट किराती समूहसँग भएको एकतालाई अनुमोदन गरेपछि भोलिको बैठकमा उनीहरूलाई सहभागी गराइने बताएकी छन्।
तर, स्रोतका अनुसार आज बैठक बस्न लागेको जानकारीसमेत किरातीलाई औपचारिक रूपमा दिइएको थिएन। पछिल्लो केही समययता पार्टी अध्यक्ष हर्क साम्पाङ र किरातीबीच प्रत्यक्ष सम्पर्कसमेत हुन नसकेको बताइएको छ।
‘हर्क साम्पाङले फेसबुकबाटै पार्टी चलाइरहनुभएको छ। कसैसँग छलफल र सरसल्लाह गर्नुहुन्न,’ स्रोतले भन्यो, ‘सुदन किरातीसँग पनि पछिल्लो समय कुनै सम्पर्क छैन।’
साम्पाङसँग प्रत्यक्ष सम्पर्क हुन नसकेपछि किरातीले आफूहरूलाई बैठकमा नबोलाइनुको कारणबारे पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए। त्यसक्रममा नेताहरूले आजको बैठकबाट एकतालाई औपचारिक रूपमा अनुमोदन गर्ने र त्यसपछि भोलिबाट एकीकृत रूपमा बैठक सञ्चालन हुने जवाफ दिएको बताइएको छ।
तर, उक्त जवाफबाट किराती पूर्ण रूपमा आश्वस्त नरहेको स्रोतको दाबी छ। बैठकमा सहभागी हुने विषय अन्योलमा रहेपछि किरातीले आफू निकट नेताहरूसँग आगामी रणनीतिबारे छलफल थालेका छन्।
पार्टीभित्र नयाँ समूहको प्रवेशपछि संगठनात्मक संरचना, जिम्मेवारी बाँडफाँट र निर्णय प्रक्रियालाई लिएर देखिएको असन्तुष्टि पछिल्लो घटनाबाट थप सतहमा आएको नेताहरूको भनाइ छ।
प्रतिक्रिया