काठमाडौं, अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। सडकमा पहिरो खसेपछि पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका सडकमा यातायात प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नआएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायत सात स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
त्यस्तै, चितवन जिल्ला प्रशासन कार्यालयले पनि शुक्रबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नआएसम्म मुग्लिन–नारायणगढ सडकखण्ड बन्द रहने जनाएको छ। लगातारको वर्षाका कारण सडकखण्डमा पहिरो तथा अन्य जोखिम बढेपछि आवागमन रोकिएको हो।
ललितपुरतर्फ कान्ति लोकपथका विभिन्न तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। वर्षा नरोकिएकाले पहिरो थप खस्न सक्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा शुक्रबार बिहान करिब ४ः३० बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
यसैगरी, वर्षाका कारण जोखिम बढेका अन्य सडकखण्डमा पनि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले सडकको अवस्था र मौसमको जोखिमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार आवागमन व्यवस्थापन गरिरहेको जनाएको छ।
प्रहरीले यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। लगातार वर्षा भइरहेकाले अवरुद्ध सडकखण्ड खुलाउन समस्या हुनसक्ने र थप स्थानमा समेत पहिरो जान सक्ने भएकाले यात्रुलाई सतर्क रहन अनुरोध गरिएको छ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया