ललितपुर, उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले ठाकुरको जाहेरी दर्ता भएको जानकारी दिएका छन् । उपसभामुख ठाकुरले व्यक्तिगत गोपनीयताको हक हनन भएको दाबी गर्दै श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन् ।
जनआस्था अनलाइनमा प्रकाशित समाचार तथा त्यसमा प्रयोग गरिएको तस्वीरलाई लिएर प्रहरीले पत्रकार श्रेष्ठलाई गत साउन २७ गते पक्राउ गरेको थियो । त्यसयता उनी प्रहरी हिरासतमा रहेर अनुसन्धानको सामना गरिरहेका थिए ।
तर, सोमबार सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि उनी हिरासतमुक्त हुने बाटो खुले पनि उपसभामुख ठाकुरले भने पुनः प्रहरीमा जाहेरी दिएकी हुन् ।
श्रेष्ठविरुद्धको पक्राउ र हिरासतसम्बन्धी मुद्दामा सर्वोच्चले समाचारमा प्रकाशित तस्वीर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा प्रविष्ट गरेको देखिएको उल्लेख गरेको छ । उक्त तस्वीर आफूले सामाजिक सञ्जालमा नराखेको भन्ने तथ्य विपक्षी पक्षले खण्डन गर्न नसकेको भन्दै सर्वोच्चले श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशमा तस्वीरको स्रोत र त्यसको सार्वजनिक उपलब्धतासमेतलाई आधार बनाउँदै पत्रकार श्रेष्ठलाई निरन्तर हिरासतमा राख्नु उचित नदेखिएको निष्कर्ष निकालिएको थियो ।
सर्वोच्चबाट रिहा गर्ने आदेश आएको केही समयमै उपसभामुख ठाकुरले प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले नयाँ मोड लिएको छ । अब प्रहरीले जाहेरीमा उल्लेख गरिएका आरोप तथा घटनाका आधारमा थप अनुसन्धान अघि बढाउनेछ ।
यससँगै पत्रकारिता, वैयक्तिक गोपनीयताको हक र सार्वजनिक पदमा रहेका व्यक्तिको सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्रीको प्रयोगसम्बन्धी कानुनी प्रश्नसमेत पुनः बहसमा आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया