काठमाडौं — यातायात व्यवस्था विभागले दुई लाख थान सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई सेवाग्राहीको तथ्यांक पठाएको छ।
जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको विभागले कार्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने गरी केन्द्रसँग सम्झौता गरेको थियो। तर सम्झौता भएको तीन महिना बितिसक्दा पनि विभागले अत्यावश्यक सेवाअन्तर्गतका लाइसेन्स मात्र छपाइ गर्दै आएको छ।
यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार हालसम्म विदेश जाने तथा अन्य अत्यावश्यक प्रयोजनका करिब १७ हजार थान लाइसेन्स छपाइ गरी वितरण गरिसकिएको छ। “सम्झौताअनुसार १२ लाखमध्ये २ लाख १८ हजार सेवाग्राहीको तथ्यांक गत बिहीबार केन्द्रलाई पठाइसकेका छौँ। केन्द्रसँग आवश्यक सबै सामग्री उपलब्ध रहेको जानकारी प्राप्त भएको छ। सम्भवतः केही हप्ताभित्र ती लाइसेन्स छपाइ भएर आउनेछन्,” उनले बताए।
सम्झौताको अवधि अझै तीन महिना बाँकी रहेकाले बाँकी ९ लाख ८२ हजार थान लाइसेन्स पनि समयमै छपाइ हुने खतिवडाको दाबी छ। जेन–जी आन्दोलनअघि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरिसकेका करिब २५ लाख चालकको लाइसेन्स विभागले छपाइ गर्न सकेको थिएन। आन्दोलनका क्रममा प्रिन्टर मेसिनसहितका संरचना आगलागीबाट क्षति पुगेपछि करिब दुई महिनासम्म सेवा अवरुद्ध भएको थियो।
विभागका अनुसार पहिलो चरणमा १२ लाख थान लाइसेन्स छ महिनाभित्र छपाइ गर्ने गरी कार्तिक १२ गते केन्द्रसँग सम्झौता गरिएको हो। तर आवश्यक आर्थिक स्रोत जुटाउन नसक्दा थप करिब १३ लाख थान लाइसेन्स छपाइका लागि सम्झौता गर्न नसकिएको जनाइएको छ।
देशभरको यातायात व्यवस्थापनको जिम्मेवारी पाएको विभागले हालसम्म पनि अस्थायी रूपमा सेवा दिइरहेको छ। “यातायात कार्यालय सेवाग्राहीको अत्यधिक चाप हुने निकाय हो। आन्दोलनबाट क्षतिग्रस्त सर्भर हालसम्म अस्थायी रूपमा सञ्चालन भइरहेको छ। पहिले प्रतीक्षालयबाट सेवा दिँदै आएका थियौँ, अहिले भने भवन रेट्रोफिट गरी सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा कम्प्युटरलगायत सामग्री जुटाएर सेवा सञ्चालन गरिरहेका छौँ,” खतिवडाले भने।
उनका अनुसार स्थायी सर्भर स्थापना गर्न भौतिक मन्त्रालयमा फाइल पठाइसकिएको भए पनि त्यससम्बन्धी प्रक्रिया अझै अघि बढ्न सकेको छैन।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया