काठमाडौं, नेपाली कांग्रेसको आधिकारिकता र नेतृत्व विवाद फेरि निर्वाचन आयोगतर्फ केन्द्रित भएको छ । संस्थापनइतर पक्षका नेता कृष्णप्रसाद सिटौलाले आयोगले विशेष महाधिवेशन पक्षधरलाई पार्टीको आधिकारिकता दिएको निर्णयप्रति प्रश्न उठाउँदै कानुनी प्रक्रियामाथि नै आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएको दाबीका आधारमा आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरेको भन्दै त्यसको प्रक्रिया र आधारमाथि प्रश्न उठाए ।
उनले आयोगले थापा पक्षबाट प्रस्तुत गरिएका दस्ताबेजकै आधारमा प्रमाणपत्र दिन मिल्ने हो कि होइन भन्ने प्रश्न गर्दै कांग्रेसको आधिकारिक रेकर्डबारे तत्कालीन सभापति शेरबहादुर देउवासँग समेत बुझ्नुपर्ने बताएका छन् ।
‘गगनजी सभापति भएँ भन्दै जानुभयो । उहाँहरूले बनाएको दस्ताबेज लिएर जानुभयो । थपक्क त्यसको आधारमा प्रमाणपत्र दिन मिल्छ ? तपाईँहरूको यस्तो क्षमताबाट कानुनको परिपालना कसरी हुन्छ ? कांग्रेसको रेकर्डबारे शेरबहादुर देउवालाई सोध्नपर्दैन ?’ सिटौलाले भने ।
निर्वाचन आयोगले गत माघ २ गते विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वलाई आधिकारिकता दिएको थियो ।
तर, संस्थापनइतर पक्षले भने आयोगको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएको छ । सिटौलाको पछिल्लो अभिव्यक्तिले कांग्रेसको आन्तरिक नेतृत्व विवादसँगै पार्टीको आधिकारिकता निर्धारण गर्ने निर्वाचन आयोगको भूमिकामाथि पनि राजनीतिक प्रश्न उठेको देखाएको छ ।
कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व परिवर्तन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद कायम रहँदा आयोगको निर्णयलाई लिएर संस्थापनइतर पक्षले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएको छ । राष्ट्रिय भेलाबाट सिटौलाले उठाएको प्रश्नले अब पार्टीभित्रको विवाद कानुनी र संवैधानिक प्रक्रियाको बहसतर्फ समेत थप तानिने संकेत गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया