logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • राजु श्रेष्ठको आरोप : ‘विशेष महाधिवेशनका नाममा कांग्रेसको नेतृत्व कब्जा गरिएको छ’

    796Shares
    राजु श्रेष्ठको आरोप : ‘विशेष महाधिवेशनका नाममा कांग्रेसको नेतृत्व कब्जा गरिएको छ’

    काठमाडौं,  नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले विशेष महाधिवेशनका नाममा कांग्रेसको नेतृत्व कब्जा गरिएको आरोप लगाएका छन् । शुक्रबार कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले विशेष महाधिवेशनको प्रक्रियाबाट पार्टीको विधि, विधान र स्थापित नेतृत्वलाई पन्छाएर नेतृत्व आफ्नो हातमा लिइएको दाबी गरेका हुन् ।

    श्रेष्ठले नेपाली कांग्रेसको वैधानिक नेतृत्व सभापति शेरबहादुर देउवासँगै रहेको जिकिर गर्दै नियमित १५औँ महाधिवेशनअघि अरू कसैलाई सभापतिका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

    उनले विशेष महाधिवेशनलाई पार्टीभित्रको सामान्य नेतृत्व परिवर्तनका रूपमा स्वीकार गर्न नसकिने बताए । विशेष महाधिवेशनको नाममा पार्टीभित्र विवाद सिर्जना गरी नेतृत्व परिवर्तन गरिएको र त्यसले कांग्रेसको संगठनलाई थप कमजोर बनाएको उनको आरोप थियो ।

    श्रेष्ठले गगनकुमार थापाको राजनीतिक यात्रामाथि पनि प्रश्न उठाए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट लामो समय सांसद, मन्त्री तथा पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहे पनि आफ्नो क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको उनले आरोप लगाए ।

    कपन क्षेत्रमा ढलमा बगेर एक बालकको मृत्यु भएको घटनालाई स्मरण गर्दै श्रेष्ठले उक्त घटनाले स्थानीय जनतामा गम्भीर असन्तुष्टि पैदा गरेको दाबी गरे । स्थानीय महिलाहरूले समेत थापाप्रति असन्तुष्टि व्यक्त गरेपछि उनी निर्वाचन लड्न मधेस पुगेको श्रेष्ठको आरोप थियो ।

    थापा मधेस र मधेसी समुदायप्रतिको प्रेमका कारण नभई राजनीतिक बाध्यताका कारण मधेस पुगेको उनको दाबी थियो ।

    श्रेष्ठले थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दा आफू क्षेत्रीय सभापति तथा चुनावी कमान्डरको भूमिकामा रहेको स्मरण गरे । त्यस क्रममा भएको बम विस्फोटको घटनामाथि समेत उनले प्रश्न उठाउँदै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

    उनले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै राजनीतिक रूपमा संवेदनशील घटनाको वास्तविकता बाहिर आउनुपर्ने बताए ।

    राष्ट्रिय भेलामा कांग्रेसको आन्तरिक विवाद अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउने विषयमा अधिकांश नेताले जोड दिइरहेका बेला श्रेष्ठले भने विशेष महाधिवेशनबाट उत्पन्न नेतृत्वसम्बन्धी विवादलाई स्वीकार गर्न नसकिने धारणा राखे ।

    श्रेष्ठको अभिव्यक्तिले राष्ट्रिय भेलामा देखिएको एकताको साझा आवाजबीच पनि कांग्रेसभित्र विशेष महाधिवेशनबाट उत्पन्न नेतृत्व विवाद अझै गहिरो रहेको देखाएको छ ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट