logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • राष्ट्रिय भेलामा १५ देखि २० हजार सहभागी हुने अनुमान, व्यवस्थापनमा थपियो एलईडी स्क्रिन

    967Shares
    राष्ट्रिय भेलामा १५ देखि २० हजार सहभागी हुने अनुमान, व्यवस्थापनमा थपियो एलईडी स्क्रिन

    काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेलामा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र बदलिँदो राजनीतिक परिवेशका कारण अपेक्षाभन्दा ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । आयोजक समितिले भेलामा १५ हजारदेखि २० हजारसम्मको उपस्थिति हुन सक्ने अनुमान गरेको छ ।

    राष्ट्रिय भेलाको मञ्च तथा हल व्यवस्थापन समितिका संयोजक तथा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठका अनुसार सहभागीको संख्या बढ्ने देखिएपछि त्यसअनुसार मञ्च, हल तथा प्राविधिक व्यवस्थापनको कामलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।

    श्रेष्ठका अनुसार प्रारम्भमा राष्ट्रिय भेलामा करिब ७ देखि ८ हजारको हाराहारीमा सहभागी हुने अनुमान गरिएको थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै भेलाप्रति नेता–कार्यकर्ताको चासो र सहभागिता बढ्ने देखिएपछि आयोजकले आफ्नो प्रारम्भिक अनुमानसमेत परिवर्तन गरेको हो ।

    राष्ट्रिय भेलामा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापति, जिल्ला सभापति तथा पालिका सभापति लगायतको सहभागिता रहनेछ । त्यसैगरी पूर्वमाननीय, पूर्वमन्त्री, पूर्वपार्टी सभापति, पूर्वपदाधिकारी तथा अन्य आमन्त्रित नेताहरूको समेत सहभागिता रहने भएकाले उपस्थितिको संख्या अझ बढ्ने आयोजकको आकलन छ ।

    धुम्बाराहीस्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाका लागि प्रारम्भिक रूपमा करिब २५ सयदेखि ३ हजार जनालाई बन्दसत्रमा व्यवस्थापन गर्ने तयारी गरिएको थियो । तर प्रतिनिधि तथा आमन्त्रितहरूको संख्या बढ्ने भएपछि आयोजकले थप स्थान र वैकल्पिक व्यवस्थासमेत तयार गरेको छ ।

    मुख्य हलको क्षमताभन्दा बढी सहभागी हुने अवस्था देखिएपछि थप व्यवस्था गरी करिब ४ हजार जनासम्मलाई बन्दसत्रमा सहभागी गराउन सकिने संरचना तयार गरिएको श्रेष्ठले बताए । यसका साथै मुख्य हलमा अट्न नसक्ने सहभागीलाई कार्यक्रमबाट अलग हुन नपर्ने गरी हलभित्र तथा बाहिरी क्षेत्रमा पाँचदेखि सातवटासम्म एलईडी स्क्रिन राखिने भएको छ ।

    बढ्दो सहभागितालाई ध्यानमा राखेर मञ्च तथा हल व्यवस्थापनसँगै बसाइ, प्राविधिक तथा अन्य आवश्यक व्यवस्थापनलाई समेत व्यवस्थित बनाइएको श्रेष्ठको भनाइ छ । चुनौतीका बीच व्यवस्थापनको काम अहिले झन्डै अन्तिम चरणमा पुगेको उनले बताए ।

     



    फास्ट न्युज    
  • २०८३ श्रावण २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट