logo

२०८३ कार्तिक ६ बिहीबार

logo
  • २०८३ कार्तिक ६ बिहीबार
  • चितवनमा पहिचान हुन नसकेका २२९ शव जमिनमुनि गाडिने, भोटेकोशी बाढीमा मृतक संख्या ६१६ पुग्यो

    928Shares
    चितवनमा पहिचान हुन नसकेका २२९ शव जमिनमुनि गाडिने, भोटेकोशी बाढीमा मृतक संख्या ६१६ पुग्यो

    चितवन — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ। बाढीमा परी चितवनका विभिन्न स्थानमा भेटिएका पहिचान हुन नसकेका २२९ शव सड्न थालेपछि डिएनए नमूना सुरक्षित राखेर जमिनमुनि गाड्ने निर्णय गरिएको छ।

    नेपाल प्रहरीका अनुसार बाढीपछि रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट हालसम्म ६१६ शव फेला परेका छन्। तीमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ शव भेटिएका छन्।

    चितवनमा भेटिएका २३३ शवमध्ये चारवटा पहिचान भएका छन् भने बाँकी २२९ शव पहिचान हुन सकेका छैनन्। लामो समयदेखि व्यवस्थापन हुन नसक्दा शवहरू सड्न–गल्न थालेपछि दुर्गन्ध फैलिएको र संक्रमण तथा महामारीको जोखिम बढेको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

    होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट संकलन गरिएका शव तथा शवका अवशेष कुहिन थालेपछि स्वास्थ्य क्षेत्रका विज्ञहरूले समेत संक्रमण फैलिन सक्ने जोखिम औँल्याएका थिए। सोही रायका आधारमा शवलाई थप सड्न नदिन सुरक्षित तथा कानुनी प्रक्रियाबाट व्यवस्थापन गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

    जिल्ला सुरक्षा समिति चितवनको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

    प्रशासनका अनुसार भविष्यमा शवको पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवको डिएनए नमूना संकलन गरिनेछ। शवलाई संकेत नम्बर प्रदान गरी त्यससँग सम्बन्धित विस्तृत अभिलेखसमेत सुरक्षित राखिनेछ।

    निर्णयअनुसार पहिचान हुन नसकेका शवहरूको अन्तिम व्यवस्थापन भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिनेछ।

    प्रशासनले तत्कालीन स्वास्थ्य जोखिम र बाध्यात्मक परिस्थितिका कारण शवलाई यसरी व्यवस्थापन गर्नुपरेको जनाएको छ। साथै, मृतकका परिवारजनमा पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गरेको छ।

    यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, नदी तथा अन्य क्षेत्रबाट शव खोज्ने, उद्धार गर्ने र बाढीका कारण अवरुद्ध सडक खुलाउने कामसमेत भइरहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताएका छन्। उनले थप शवको तथ्यांक संकलन भइरहेको जानकारी दिएका छन्।



    फास्ट न्युज    
  • २०८३ भाद्र १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट