कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित बालपुर गाउँ नजिकै बाणगंगा नदीको बीचमा फसेका ७ युवाको शनिबार दिउँसो सकुशल उद्धार गरिएको छ।
नदीमा पौडी खेल्न गएका बेला अचानक पानीको बहाव बढेपछि उनीहरू नदीको बीच भागमा फसेका थिए। फसेका युवाहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले करिब डेढ घण्टाको प्रयासपछि सकुशल उद्धार गरेको हो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार उद्धारका लागि सुरक्षाकर्मीहरू ढुङ्गा, डोरीलगायतका उद्धार सामग्रीसहित नदीमा प्रवेश गरेका थिए। उद्धार कार्यलाई सहज बनाउन नदीमा क्रेनसमेत ल्याइएको थियो।
उद्धार गरिएका युवाहरूमा बाणगंगा नगरपालिका–४ का १७ वर्षीय सम्राट गिरी, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय ज्ञानेन्द्र परियार, कृष्ण तिवारी, मनिष थापा, बाणगंगा नगरपालिका–१ का विकल्प रेग्मी र बाणगंगा नगरपालिका–८ का सुभाष घिमिरे रहेका छन्।
अर्घाखाँची क्षेत्रमा वर्षा भएपछि बाणगंगा नदीमा पानीको बहाव बढेको बताइएको छ। नदीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया