logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • बाँदर नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म : दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो झण्डै एक अर्वको बजेट

    862Shares
    बाँदर नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म : दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो झण्डै एक अर्वको बजेट

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रणलाई विशेष प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा ९९ करोड ७३ लाख ६४ हजार १४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    नगरपालिकाको १५औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख तीर्थराज भट्टराईले किसानले उत्पादन गरेको बाली बाँदरले नष्ट गर्ने समस्या समाधानका लागि विशेष अभियान सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार बाली संरक्षणका लागि बाली हेरालु परिचालन गरिनेछ भने छिमेकी पालिका, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन योजना बनाएर बाँदर समस्या न्यूनीकरणको अभियान अघि बढाइनेछ।

    नगरपालिकाले “खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा” भन्ने नारासहित किसानको घरदैलोमै कृषि प्राविधिक सेवा पुर्‍याउने, उन्नत बीउबिजन वितरण गर्ने तथा एकीकृत घुम्ती कृषि शिविर सञ्चालन गर्ने नीति लिएको छ। साथै “किसान, तपाईंलाई के चाहिन्छ ?” कार्यक्रममार्फत कृषकका आवश्यकता पहिचान गरी सोहीअनुसार सेवा तथा सुविधा प्रदान गरिने जनाइएको छ।

    कृषि उत्पादन वृद्धि र व्यवसायीकरणलाई जोड दिँदै प्याज, बेसार, अदुवा, लसुन, अकबरे खुर्सानी, तोरी तथा मह उत्पादनका आधारमा अनुदान कार्यक्रमलाई थप विस्तार गरिने भएको छ। कफी खेती विस्तार, माटो परीक्षण, बाली उपचार, जैविक विषादी प्रवर्द्धन, बीउ संग्रहालय स्थापना तथा डिजिटल किसान परिचयपत्र वितरणका कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।

    कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक कृषकका रूपमा विकास गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। सामूहिक खेती, कृषि यान्त्रीकरण तथा सहज कृषि कर्जाको पहुँच विस्तार गरी कृषिलाई सम्मानजनक र आम्दानीमूलक पेशाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

    फलफूल खेती प्रवर्द्धनतर्फ सुन्तला, एभोकाडो, कागती र किवी उत्पादन वृद्धि तथा बजारीकरणमा जोड दिइने भएको छ। कृषकले उत्पादन गरेका वस्तु बजारसम्म सहज रूपमा पुर्‍याउन ढुवानी साधन व्यवस्थापन तथा कृषि बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नीति पनि नगरपालिकाले अघि सारेको छ।

    नगरप्रमुख भट्टराईले कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यवसायिक र आत्मनिर्भर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताउँदै किसानको आय वृद्धि, कृषि उत्पादन विस्तार र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिइएको उल्लेख गरे।

    नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा बाँदर नियन्त्रण, कृषि आधुनिकीकरण, युवा सहभागिता, उत्पादन वृद्धि र बजारीकरणलाई केन्द्रमा राखिएको छ। स्थानीय कृषकका समस्या समाधान गर्दै कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने उद्देश्यका साथ कार्यक्रमहरू अघि सारिएको नगरपालिकाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट