logo

२०८३ भाद्र ४ बिहीबार

logo
  • २०८३ भाद्र ४ बिहीबार
  • मन्त्री फेरबदलको चर्चा चिर्दै रवि : ‘एक–दुई जनाको बोलीले पार्टीमा विवाद हुँदैन’

    787Shares
    मन्त्री फेरबदलको चर्चा चिर्दै रवि : ‘एक–दुई जनाको बोलीले पार्टीमा विवाद हुँदैन’

    काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र मन्त्री फेरबदलको चर्चा चलिरहेका बेला पार्टी सभापति रवि लामिछानेले त्यसको खण्डन गरेका छन् । उनले पार्टीभित्रका केही नेता तथा सांसदका विवादास्पद अभिव्यक्तिलाई लिएर सरकारमा समस्या देखिएको अर्थ लगाउन पनि अस्वीकार गरेका छन् ।

    बुधबार सिंहदरबारमा रास्वपाका मन्त्री तथा सांसदसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले धेरै सांसद भएको दलमा कहिलेकाहीँ कसैको बोली चिप्लिन सक्ने भन्दै त्यसलाई पार्टीले व्यवस्थापन गर्ने बताएका हुन् ।

    ‘धेरै सांसद भएको राजनीतिक दलभित्र कहिले कसको, कहिले कसको बोली चिप्लिन सक्छ,’ उनले भने, ‘कहिलेकाहीँ काम गर्दागर्दै यताउता हुन सक्ने पनि होला ।’

    लामिछानेले सञ्चारमाध्यममा आउने सबै समाचार सही नहुने भन्दै रास्वपाका नेताका अभिव्यक्तिलाई लिएर भइरहेको चर्चालाई पनि त्यही रूपमा बुझ्न आग्रह गरे । ‘जसरी यति धेरै पत्रकार साथीहरू हुनुहुन्छ, सबैको समाचार सही नहुन पनि सक्छ । कहिले हेडलाइन बिग्रिन्छ, कहिले के,’ उनले भने ।

    पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति लामिछानेबीच दूरी बढेको चर्चा भइरहेका बेला उनले प्रधानमन्त्रीको ‘एक्लो’ महसुस गरेको अभिव्यक्तिलाई पनि राजनीतिक असन्तुष्टिका रूपमा नबुझ्न आग्रह गरे ।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू एक्लो महसुस गरेको आशयको स्टाटस लेखेका थिए । त्यसलाई लिएर सरकार सञ्चालनमा प्रधानमन्त्री असन्तुष्ट रहेको चर्चा भइरहेका बेला लामिछानेले शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक शब्दको राजनीतिक अर्थ खोज्न नमिल्ने बताए ।

    ‘उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि,’ लामिछानेले भने, ‘यत्रो सिंगो पार्टी सँगै उभिएको छ, कहाँ उहाँ एक्लो हुनु?’

    बुधबार रास्वपाको संसदीय दलको बैठक बसे पनि प्रधानमन्त्री शाह भने उपस्थित थिएनन् । लामिछानेले भने उक्त बैठक सांसद र पार्टी सभापतिबीचको छलफलका लागि भएकाले दलका नेता उपस्थित नभएको स्पष्ट पारे ।

    ‘आजको बैठक भने सांसदहरू र सभापतिबीचको छलफल हो । दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुविधा छैन,’ उनले भने ।

    बैठकमा लामिछानेले मन्त्री तथा सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा संयम अपनाउनसमेत आग्रह गरेका थिए । पछिल्लो समय पार्टीका नेताहरूका अभिव्यक्तिले विवाद निम्त्याइरहेका बेला उनको यो आग्रहलाई पार्टीभित्रको अनुशासन र सरकार सञ्चालनसँग जोडेर हेरिएको छ ।

    यद्यपि, लामिछानेले पार्टीभित्र सामान्य रूपमा देखिने अभिव्यक्तिगत विवादलाई ठूलो राजनीतिक संकटका रूपमा नलिन आग्रह गरेका छन् । उनका पछिल्ला अभिव्यक्तिले रास्वपा सरकारमा तत्काल कुनै ठूलो फेरबदलको तयारीमा नरहेको सन्देश दिन खोजेको देखिन्छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट