logo

२०८३ भाद्र ४ बिहीबार

logo
  • २०८३ भाद्र ४ बिहीबार
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

    724Shares
    राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

    काठमाडौं,  नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    गत चैतदेखि रिक्त रहेको डेपुटी गभर्नरको एक पदमा सरकारले रावललाई नियुक्त गरेको हो । यसअघि सरकारले किरण पण्डितलाई अर्को डेपुटी गभर्नरमा नियुक्त गरिसकेको थियो । रावलको नियुक्तिसँगै राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर पदमा पदपूर्ति भएको छ ।

    रावल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । उनले बैंकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षणका साथै वित्तीय जानकारी एकाइमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । सन् २०१९ देखि २०२४ सम्म उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादको वित्तीय व्यवस्थापनसम्बन्धी काम गर्ने वित्तीय जानकारी एकाइको नेतृत्व गरेका थिए ।

    राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद लामो समय रिक्त रहँदा केन्द्रीय बैंकको आन्तरिक कार्यसम्पादन तथा नीतिगत निर्णय प्रक्रियामा समेत प्रभाव परेको थियो । रावलको नियुक्तिसँगै नेतृत्व तहमा रहेको उक्त रिक्तता अन्त्य भएको छ ।

    नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । डेपुटी गभर्नरले मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण, वित्तीय स्थायित्वलगायत केन्द्रीय बैंकका महत्वपूर्ण काममा भूमिका निर्वाह गर्छन् ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट