काठमाडौं, इरानसँग आर्थिक कारोबार जारी राख्ने देशहरूलाई समेत अमेरिकी प्रतिबन्धको दायरामा ल्याउने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । इरानसँगको वार्तामा गतिरोध देखिएपछि ट्रम्पले तेहरानमाथि मात्र नभई उसका व्यापारिक साझेदारमाथि समेत दबाब बढाउने संकेत गरेका हुन् ।
ट्रम्पले बुधबार ‘ट्रुथ सोसल’मार्फत इरानले सम्झौताका लागि प्राप्त अवसर सदुपयोग गर्न असफल भएको दाबी गरेका छन् । अब इरानले कठोर आर्थिक कारबाही र अन्तर्राष्ट्रिय एक्लोपनाको सामना गर्नुपर्ने उनको चेतावनी छ ।
ट्रम्पको चेतावनीअनुसार इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने कुनै पनि देश अमेरिकी कारबाहीको जोखिममा पर्नेछ । इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी संयन्त्रमार्फत सहयोग गर्ने निकायलाई समेत आर्थिक परिणाम भोग्न बाध्य पारिने उनले बताएका छन् ।
विशेषगरी इरानको तेल कारोबारमाथि ट्रम्पले कडा निगरानी र कारबाहीको संकेत गरेका छन् । तेल तस्करी, स्वाप लाइन, नगद कारोबार, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा अग्र कम्पनीमार्फत हुने कारोबार रोक्नुपर्ने उनको भनाइ छ ।
इरानमाथि दबाब बढाउने अमेरिकी रणनीतिमा तेस्रो मुलुकलाई समेत जोड्ने संकेतले इरानको अन्तर्राष्ट्रिय व्यापारमा थप चुनौती खडा गर्न सक्छ । इरानसँग व्यापारिक सम्बन्ध रहेका मुलुकका बैंक तथा कम्पनीहरूले अमेरिकी प्रतिबन्धको जोखिम मूल्यांकन गर्नुपर्ने अवस्था आउन सक्छ ।
ट्रम्पले इरानबाट उत्पन्न खतरा अन्त्य गर्न अमेरिकी सहयोगीहरूलाई आफ्नो पक्षमा उभिनसमेत आग्रह गरेका छन् । यससँगै वार्ताबाट समाधान खोज्ने प्रयास र आर्थिक दबाब बढाउने अमेरिकी रणनीति समानान्तर रूपमा अघि बढिरहेको देखिएको छ ।
अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । पछिल्लो चेतावनी भने इरानमाथिको दबाबलाई उसको व्यापारिक साझेदारसम्म विस्तार गर्ने संकेतका रूपमा आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया