काठमाडौं, विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी प्रकरणमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको निर्णय प्रक्रियामाथि नै प्रश्न उठाएको छ।
प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक सूचना र उपलब्ध विवरणका आधारमा उक्त कारबाहीको कानुनी आधार, निर्णय प्रक्रिया तथा कार्यसम्पादनबारे गम्भीर चासो व्यक्त गर्दै एसपी कटवालसँग लिखित स्पष्टीकरण मागेको हो।
स्रोतका अनुसार स्पष्टीकरणमा मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको थियो, त्यसको प्रमाणीकरण कसरी गरिएको थियो र कसको विश्लेषणपछि कारबाही अघि बढाइएको थियो भन्ने विवरण मागिएको छ।
त्यस्तै ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको औचित्य, परिचालन आदेश कसले, कहिले र कुन जीडी इन्ट्रीका आधारमा जारी गरेको थियो भन्ने विषय पनि स्पष्ट गर्न भनिएको छ।
प्रदेश प्रहरी कार्यालयले खानतलासीका क्रममा आवश्यक कानुनी प्रक्रिया र स्वीकृति पूरा गरिएको थियो वा थिएन, कारबाहीबाट के–कस्ता सामग्री बरामद भए तथा आपराधिक प्रमाण फेला नपरेको अवस्थामा यति ठूलो प्रहरी परिचालन किन आवश्यक ठानियो भन्ने विषयमा पनि जवाफ मागेको छ।
यस घटनाले विराटनगरका उद्योगी–व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक छविमा समेत असर परेको भन्ने विषयमा एसपी कटवालको धारणा पनि मागिएको स्रोतले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया