logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • भोटेकोशी बाढीपछि २९१ विदेशी सहित ३८४ पर्यटक सम्पर्कविहीन

    709Shares
    भोटेकोशी बाढीपछि २९१ विदेशी सहित ३८४ पर्यटक सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीपछि स्वदेशी तथा विदेशी गरी ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। बोर्डले विभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सी, पर्यटक प्रहरी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा टुर गाइडसँग समन्वय गरी पर्यटकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ।

    बोर्डका अनुसार सम्पर्कविहीन भएका विदेशीमध्ये भारतीय नागरिकको संख्या उल्लेख्य छ। विभिन्न एजेन्सीमार्फत संकलित विवरणमा भारतीय तथा गैरआवासीय भारतीयसमेत ठूलो संख्यामा रहेको देखिएको छ। ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना तथा लिफ होलिडेका ५५ जना यात्रु सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

    बुधबार बिहान करिब ८ः३० बजे तिब्बततर्फबाट आएको असामान्य ठूलो पानीको बहाव भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र नराम्ररी प्रभावित भएका छन्। बाढीले नदी किनारका बस्ती, बजार, सडक, पुल, सवारीसाधन, भन्सार क्षेत्र तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरणहरू आएका छन्।

    बाढीको प्रभाव रसुवामा मात्र सीमित नभई नुवाकोट र धादिङसम्म पुगेको छ। त्रिशूली नदीको बहाव बढेपछि नदी आसपासका बस्ती तथा संरचनामा समेत क्षति पुगेको छ। सडक विभागका अनुसार भोटेकोशी–त्रिशूली क्षेत्रमा कम्तीमा १९ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

    बाढी प्रभावित क्षेत्रमा सम्पर्क तथा यातायात अवरुद्ध भएकाले पर्यटकको वास्तविक अवस्था यकिन गर्न कठिन भइरहेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको ३८४ जनाको संख्या प्रारम्भिक विवरण मात्र भएको र प्रमाणीकरणको क्रममा रहेको जनाएको छ। त्यसैले सम्पर्कविहीन भनिएका सबै पर्यटक बाढीमा परेको वा हताहती भएको निष्कर्ष निकाल्न भने अहिले नै मिल्दैन।

    यसैबीच सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र बनाएका छन्। तीनवटै सुरक्षा निकायको समन्वयमा प्रभावित तथा गम्भीर घाइतेको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ।

    भोटेकोशीको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङसहित नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट