logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • नागढुङ्गा सुरुङमार्गमा टोल लागू : कारलाई ६०–६५ रुपैयाँदेखि ठूला ट्रकलाई ६०० रुपैयाँसम्म शुल्क

    961Shares
    नागढुङ्गा सुरुङमार्गमा टोल लागू : कारलाई ६०–६५ रुपैयाँदेखि ठूला ट्रकलाई ६०० रुपैयाँसम्म शुल्क

    काठमाडौं । सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब सडक उपभोग दस्तुर (टोल) तिर्नुपर्ने भएको छ। आयोजनाले सवारीको प्रकार र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको हो।

    आयोजनाका अनुसार सवारी साधनलाई चार वर्गमा विभाजन गरी काठमाडौंतर्फ र धादिङतर्फ यात्रा गर्ने सवारीका लागि छुट्टाछुट्टै दर कायम गरिएको छ।

    कार, जिप, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र धादिङतर्फ जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

    मिनीबस तथा मिनी ट्रिपर/ट्रकका लागि काठमाडौंतर्फ ११५ रुपैयाँ र धादिङतर्फ ८० रुपैयाँ शुल्क तोकिएको छ।

    त्यस्तै बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र धादिङतर्फ जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

    सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक, हेभी उपकरण तथा अन्य ठूला सवारीका लागि निर्धारण गरिएको छ। यस्ता सवारीले काठमाडौंतर्फ आउँदा ६०० रुपैयाँ र धादिङतर्फ जाँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।

    आयोजनाले टोल दर निर्धारण गर्दा सुरुङमार्ग प्रयोगबाट हुने इन्धन, सवारी सञ्चालन खर्च र यात्रा समयको बचतलाई आधार बनाएको जनाएको छ। सोही आधारमा काठमाडौंतर्फ जाने सवारीका लागि अनुमानित बचतको करिब ३० प्रतिशत र धादिङतर्फ जाने सवारीका लागि करिब ३६ प्रतिशत बराबर हुने गरी शुल्क तय गरिएको हो।

    सुरुङमार्ग सञ्चालनसँगै अब यात्रुले छोटो दूरी, कम समय र सहज आवागमनको सुविधा पाउने अपेक्षा गरिएको छ भने सोही सुविधाअनुसार टोल शुल्क पनि लागू गरिएको आयोजनाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट