काठमाडौं । सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब सडक उपभोग दस्तुर (टोल) तिर्नुपर्ने भएको छ। आयोजनाले सवारीको प्रकार र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको हो।
आयोजनाका अनुसार सवारी साधनलाई चार वर्गमा विभाजन गरी काठमाडौंतर्फ र धादिङतर्फ यात्रा गर्ने सवारीका लागि छुट्टाछुट्टै दर कायम गरिएको छ।
कार, जिप, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र धादिङतर्फ जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
मिनीबस तथा मिनी ट्रिपर/ट्रकका लागि काठमाडौंतर्फ ११५ रुपैयाँ र धादिङतर्फ ८० रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र धादिङतर्फ जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक, हेभी उपकरण तथा अन्य ठूला सवारीका लागि निर्धारण गरिएको छ। यस्ता सवारीले काठमाडौंतर्फ आउँदा ६०० रुपैयाँ र धादिङतर्फ जाँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
आयोजनाले टोल दर निर्धारण गर्दा सुरुङमार्ग प्रयोगबाट हुने इन्धन, सवारी सञ्चालन खर्च र यात्रा समयको बचतलाई आधार बनाएको जनाएको छ। सोही आधारमा काठमाडौंतर्फ जाने सवारीका लागि अनुमानित बचतको करिब ३० प्रतिशत र धादिङतर्फ जाने सवारीका लागि करिब ३६ प्रतिशत बराबर हुने गरी शुल्क तय गरिएको हो।
सुरुङमार्ग सञ्चालनसँगै अब यात्रुले छोटो दूरी, कम समय र सहज आवागमनको सुविधा पाउने अपेक्षा गरिएको छ भने सोही सुविधाअनुसार टोल शुल्क पनि लागू गरिएको आयोजनाले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया