काठमाडौं । केही साताअघि भएको युद्धविराम र समझदारी कमजोर बन्दै गएपछि अमेरिका र इरानबीच फेरि प्रत्यक्ष सैन्य भिडन्तको जोखिम बढेको छ। दुवै देशबीचको तनाव तीव्र बन्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएको छ। अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र प्रक्षेपण केन्द्र, नौसैनिक अड्डा, बन्दरगाह, रेलमार्ग तथा अन्य रणनीतिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ। त्यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी आक्रमण जारी रहे मध्यपूर्वमा रहेका अन्य अमेरिकी सैन्य अड्डालाई समेत निशाना बनाइने चेतावनी दिएको छ।
कतारी सञ्चारमाध्यम अलजजिराका अनुसार, पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा पनि अमेरिकी आक्रमण जारी रहे इरानी नेतृत्वले प्रतिरोधको नीति यथावत् रहने स्पष्ट सन्देश दिएको छ। इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन भएको दाबी गरेको छ। इरानी प्रतिनिधिले सुरक्षा परिषद्लाई सक्रिय हस्तक्षेप गर्न आग्रह गरेका छन्। यता, राष्ट्रसंघले भने दुवै पक्षलाई संयम अपनाएर कूटनीतिक माध्यमबाट समाधान खोज्न निरन्तर आग्रह गर्दै आएको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूले युद्ध थप फैलिएको अवस्थामा विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। विभिन्न देशहरूले पनि दुवै पक्षलाई संयम अपनाउन र यसअघि भएको समझदारी कार्यान्वयन गर्न आह्वान गरेका छन्। यसैबीच, साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन संवाद भएको छ। उता, इजरायलले आवश्यक परे इरानविरुद्ध अझ कडा सैन्य कारबाही गर्न तयार रहेको संकेत दिएको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा ठूलो परिमाणमा मल र अन्य वस्तुको ढुवानी हुने क्षेत्र भएकाले तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्ने चिन्ता बढेको छ। विश्लेषकहरूको भनाइमा, कूटनीतिक समाधान ननिस्किए ऊर्जा संकट अझ गहिरिने र क्षेत्रीय अस्थिरता थप बढ्ने जोखिम रहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया