हलेसी तुवाचुङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा सकेर बसेका युवाहरूलाई लक्षित गरी विशेष तालिम सञ्चालन गरेको छ। तालिम कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी जस्ता परिकारको उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’मा केन्द्रित थियो।
स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्ने र रैथाने अन्न कोदोको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम नगरपालिकाको वडा नं ७ स्थित महादेवस्थानमा सात दिनसम्म सञ्चालन भएको हो। “कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार” भन्ने नारासहितको तालिममा १२ जना विद्यार्थी तथा केही महिला उद्यमीको सक्रिय सहभागिता थियो।
तालिमको समापन कार्यक्रममा सहभागीहरूले आफैंले उत्पादन गरेका कोदोका विविध परिकारहरू प्याकेजिङ गरेर प्रदर्शन गरेका थिए। नगरपालिकाका अनुसार अब यी परिकारलाई व्यावसायिक रूपमा अघि बढाउने तयारी गरिएको छ।
वडा नं ७ का वडाध्यक्ष कमल गिरीका अनुसार प्रशिक्षार्थीहरूले उत्पादन गरेका कोदोका वस्तुहरू नगरपालिकाले खरिद गरी ‘कोसेली घर’मार्फत पाहुनालाई उपहारस्वरूप वितरण गर्ने योजना बनाइएको छ। योजना अनुसार, कोदोको उत्पादनमा वृद्धि गर्दै यसको बजार मूल्य बढाउने र स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य राखिएको बताइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया