काठमाण्डौ । देशभर आज माघे सङ्क्रान्तिको अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।
देवघाटमा नुहाउन जानेहरुलाई गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था
माघे सङ्क्रान्ति दिन आज देवघाटधाममा नुहाउन जाने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जाने गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।
गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर तीनका वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने भएको छ ।
गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो । स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको छ ।बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको छ । डुङ्गा सञ्चालकसँग सम्झौता गरिएको र उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्ने वडाअध्यक्ष तिवारीले बताउनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया