विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको दोहोरो झडपमा ज्यान गुमाएका दुई जनाको शव परिवारले शुक्रबार साँझ कोशी अस्पतालबाट बुझेको छ।
मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहता को शव अस्पतालबाट निकालेर कप्तानगञ्जस्थित घर लगिएको छ। परिवारले धार्मिक परम्पराअनुसार अन्तिम श्रद्धाञ्जलिपछि अन्त्येष्टि गर्ने तयारी गरेको जनाएको छ।
घटनाका क्रममा गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको थियो।
शव बुझाउने प्रक्रिया लामो समय रोकिएको अवस्थामा बिहीबार राति गृहमन्त्री सुदन गुरुङ को उपस्थितिमा सरकार र मृतक परिवारबीच विभिन्न विषयमा सहमति भएपछि शव जिम्मा लगाउने वातावरण बनेको हो।
सहमतिपछि शुक्रबार साँझ परिवारले कोशी अस्पतालबाट दुवै जनाको शव बुझेको हो। शव घर पुर्याइएपछि स्थानीयवासी र आफन्तजनले श्रद्धाञ्जलि अर्पण गरेका छन्।
देवानगञ्ज घटनापछि उत्पन्न तनाव मत्थर पार्ने प्रयासस्वरूप सरकार र स्थानीय पक्षबीच संवाद जारी रहेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा पारिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया